TRENDING

‘मेरी बास्सै’का बडाकाजी फेरीए

काठमाडौं । लोकप्रिय टीभी श्रृंखला ‘मेरी बास्सै’ले प्रसारणको ७८० भाग पूरा गरेको छ । नेपाली हास्यव्यंग्य सिरियलको इतिहासमा सम्भवतः यो कार्यक्रम सर्वाधिक लामो समय चलिरहेको श्रृंखला पनि हो ।

सिरियलको मंगलबार ७८० औं भाग प्रसारण भएको हो । उक्त भागदेखि सिरियलले कलाकारमा केही हेरफेर गरेको छ । चर्चित अभिनेता मुकुन्द श्रेष्ठ बडाकाजीको भूमिकामा भित्रिएका छन् ।

सिरियलमा यो चरित्र निर्वाह गरिरहेका अभिनेता रामचन्द्र अधिकारी बिरामी भएर अहिले घरमै आराम गरिरहेका छन् । उनी निको हुन समय लाग्ने देखिएकाले उनको ठाउँमा मुकुन्दलाई ल्याइएको अभिनेता सुरवीर पण्डितले जानकारी दिए ।

पण्डितका अनुसार रामचन्द्र अधिकारी निको भएर फर्किन अझै केही साता लाग्ने भएकाले नयाँ कलाकार ल्याइएको हो ।