TRENDING

आइतवारदेखि ७ वटा जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने

काठमाण्डौ । सरकारले पर्सि आइतवारदेखि सात वटा जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ ।

हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइलेविरुद्धको औषधि सबैलाई खुवाउने गरी ‘आम औषधि सेवन अभियान’ सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। रुद्र मरासिनीले जानकारी दिनुभयो ।

यसअघि ती जिल्लामा ‘आम औषधि सेवन अभियान’ सञ्चालन गरे पनि अभियानको उद्देश्य पूर्णरूपमा सफल नभएपछि फेरि अभियान सञ्चालन गर्न लागिएको हो । अभियान दुई हप्तासम्म चल्नेछ । औषधि खुवाउन छ हजार जना स्वास्थ्यकर्मी र पाँच हजार आठ सय जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने तयारी छ ।

डा। मरासिनीका अनुसार सात वटा जिल्लाका एक सय एक वटा पालिकाका ५० लाख ७८ हजार जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने लक्ष्य छ । दुई वर्षभन्दा माथिको उमेरका सबैलाई औषधि खुवाइने उहाँले बताउनुभयो । गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्ति, पहिले आम औषधि सेवन गर्दा गम्भीर समस्या देखिएका व्यक्ति तथा सिकिस्त बिरामीले हात्तीपाइले रोगविरुद्धको औषधि खान नहुने पनि निर्देशक डा। मरासिनीले बताउनुभयो ।