TRENDING

बाथरोगविरुद्ध सहकार्य : सन्दर्भ- विश्व बाथरोग दिवस (अक्टोबर १२)

हरेक वर्ष अक्टोबर १२ तारिखका दिन विभिन्न कार्यक्रमहरु आयोजना गरि ‘विश्व बाथरोग दिवस’ मनाउने गरिन्छ । यो दिवस मनाउनुको प्रमुख उद्देश्य समाजमा बाथरोग तथा बाथजन्य स्वास्थ्य समस्याहरुको अवस्थिति, यसको कारण, यसले पार्न सक्ने प्रत्यक्ष अप्रत्यक्ष प्रभाव, सम्भाव्य रोकथामका उपाय, बैज्ञानिक उपचार विधी एवं उचित व्यवस्थापनको लागि आ-आफ्नो तहबाट गर्न सकिने उपायहरूबारे विश्वव्यापी जनचेतना फैलाउनु हो ।

हाम्रोजस्तो विकासोन्मुख मुलुकमा मात्र नभएर विकसित मुलुकहरुमासमेत बाथरोगसम्बन्धी जनचेतना कम भएको पाईएको छ । अझ, हाम्रो समाजमा त यससम्बन्धी विभिन्न मिथ्या धारणाहरु विद्यमान छन् । धेरैजसो व्यक्तिहरुले ‘बाथसम्बन्धी रोग बुढ्यौलीसँगै आउने रोग हो’ भन्ठान्छन भने कसैले यसलाई ‘निको नहुने रोग’को रुपमा लिएको पाईन्छ । बाथसम्बन्धी रोग लागेको शंका भएका व्यक्तिहरुले समयमै विशेषज्ञ चिकित्सकसँग परामर्श लिई समयमै औषधि उपचार गरेमा बाथरोगलाई नियन्त्रणमा राखि सामान्य जीवनयापन गर्न सकिन्छ’ भन्ने कुरा अधिकांश व्यक्तिहरुलाई थाहा नै छैन । त्यसैले बाथरोगको रोकथाम, निदान, परामर्श र उपचारको लागि परिवार, समुदाय समाज र सरकारको सरोकारको साथसाथै पीडित व्यक्ति आफै पनि अझ बढी प्रोत्साहित र जिम्मेवार हुनुपर्दछ ।

सामान्य भाषामा बाथरोग (आरथ्राइटिस) भन्नाले शरीरका जोर्नी र यस वरपरका संरचनाहरु दुख्ने, सुन्निने र अररो भई राम्ररी चलमल गर्न नसक्ने अवस्था बुझिन्छ । हाम्रो समाजमा जोर्नी र जीउ दुख्ने समस्याको एक प्रमुख कारण बाथरोग र बाथजन्य स्वास्थ्य समस्याहरु हुन् । मानव शरीरमा हुनसक्ने १०० भन्दा बढी किसिमका बाथरोगहरुमध्ये गठिया (र्र्युमटोइड आरथ्राइटिस); जोर्नी खिईने बाथ (ओस्टियो-आरथ्राइटिस); गाउट (युरिक एसिडको बाथ); ढाडको बाथ (स्पोंडिलो-आरथ्राइटिस); बाल्यावस्थामा हुने बाथ (जुभेनाईल आरथ्राइटिस); लुपस (सिस्टेमिक लुपस इरिदम्यटोसस); मांसपेशीहरु दुख्ने समस्या (र्र्युमटिज्म) तथा मुटुको बाथज्वरो प्रमुख हुन् । रोगको किसिम र प्रकृति हेरी बाथरोगको निदान, उपचार व्यवस्थापन र जटिलता पनि फरक फरक हुने गर्दछन् ।

‘बाथरोग किन र कसरी हुन्छ’ भन्ने कुरा पूर्णरुपमा यकिन नभईसके तापनि विभिन्न अध्ययन अनुसार वंशाणुगत र वातावरणीय कारणले यो रोग लाग्नमा भूमिका खेलेको हुन्छ । वंशाणुगत कारणले एउटै परिवारका एक भन्दा बढी सदस्यहरुलाई यो रोग हुन सक्छ । त्यस्तै अन्य विभिन्न कारणहरु जस्तैस् धुमपान, मद्यपान, अस्वस्थकर खानपान, मोटोपन र शारीरिक व्यायामको कमीले रोग उब्जाउने तथा भएको रोगलाई बढाउन सक्ने कुरा विभिन्न अध्ययनहरुले देखाएका छन् । विभिन्न किसिमका संक्रमणले पनि बाथसम्बन्धी रोग निम्त्याउन सक्ने तथा भईराखेको बाथरोगको असरलाई बढाउन सक्ने भएकोले यसतर्फ पनि समयमै ध्यान दिनु जरुरी छ ।

बाथरोग जुनसुकै उमेर, लिङ्ग, पेशा र वर्गका मानिसलाई हुनसक्ने भए तापनि समग्रमा महिलामा यसको प्रभाव बढी देखिन्छ क्ष् विभिन्न तथ्यांकअनुसार संयुक्त राज्य अमेरिकामा शारीरिक दुर्बलताको सबभन्दा प्रमुख कारण नै बाथरोग भएको थाहा हुन आएको छ क्ष् नेपालमा बाथरोगसम्बन्धी यकिन आँकडा नभए तापनि अन्य देशको आँकडालाई आधार मान्दा कुल जनसंख्याको करिब १० प्रतिशत जतिलाई कुनै न कुनै किसिमको बाथरोग भएको छ भन्न सकिन्छ । त्यसैले हाम्रो मुलुकका लाखौं जनताहरु बाथरोग एवं बाथजन्य स्वास्थ्य समस्या र यसबाट सिर्जित जटिलताहरुको परिणामस्वरूप कुँजिएर बस्न र निष्क्रिय एवं पीडादायी जीवन व्यतित गर्न बाध्य भएको कुरा सहजै अनुमान गर्न सकिन्छ ।

विभिन्न अध्ययन अनुसार बाथका दुई तिहाई भन्दा बढी बिरामी ६० बर्षभन्दा कम उमेरका भएको देखिएको छ, जुन समूहलाई समाजमा अत्यन्त उत्पादनशील तथा उर्जाशील उमेर समूह मानिन्छ । अरु दीर्घ रोगले जस्तै बाथरोगले पनि बिरामीलाई शारीरिकरुपमा मात्रै नभई मानसिकरुपमा पनि कमजोर तुल्याउंछ, जसले गर्दा व्यक्ति तथा परिवारकै कार्यक्षमता र उत्पादनशिलतामा ह्रास आउँछ । परिवारको हेरविचार र रेखदेख गर्नुपर्ने बेलामा बिरामी आफै परनिर्भर बन्नुपर्ने अवस्था सृजना हुन्छ क्ष् वर्षौदेखिको रोगको असर, लगातारको दुखाई, लामो अवधिसम्म औषधी सेवन गर्नुपर्ने बाध्यता एव निरन्तर थपिने आर्थिक भारले बाथरोगका बिरामीलाई समय समयमा उर्जाहिन, थकित र वैरागी बनाउन सक्छ । त्यसमाथि ‘ग्यारेन्टीका साथ रोग निको पारिदिने’ नाममा खोलिएका फुटपाथे पसल, लेवलबिनाका औषधीहरुको बिगबिगी र मनपरी उपचारले हानिकारक असर पुर्र्याई कष्टमाथि कष्ट थपिदिन्छ ।

यस्ता शारीरिक र मानसिक असरबाट परै रहन बाथरोगका बिरामीहरुले एकापसमा आफ्नो रोगसम्बन्धी ज्ञान, अनुभव र सहयोग आदानप्रदान गर्ने, आफन्त तथा साथीभाइसँग आफ्नो समस्याबारे छलफल गरि आफूलाई हलुङ्गो बनाउन प्रयत्न गर्ने, अरुलाई ढाडस दिनुका साथै नियमित रुपमा शारीरिक व्यायाम र कसरत गर्ने गर्नुपर्दछ । यी सबैका लागि आफ्नो रोग र भविष्यप्रति सकारात्मक सोचको आवश्यकता पर्दछ । एक्लैले भन्दा समूहमा सँगसंगै काम गरेर यी सबै कार्यमा सफलता प्राप्त गर्न सहज हुन्छ ।

नेपालमा बाथरोगसम्बन्धी सेवाको सुरुवात प्रभावकारी ढंगले हुन् सकेको छैन । यसको एक प्रमुख कारण देशमा बाथरोगसम्बन्धी विशेषज्ञ जनशक्तिको टड्कारो अभाव नै हो । त्यसमाथि बाथरोगको क्षेत्रमा राज्यको पहुँच नपुगेको तथा बाथरोगीको समस्याप्रति सरकारको ध्यानाकर्षण हुन नसकेको कुरा जग जाहेर नै छ । त्यसैले देशभित्रै लाखौंको संख्यामा रहेका बाथका बिरामीहरुको समयमै सही उपचार पाउनुपर्ने नैसर्गिक अधिकारलाई ख्याल गर्दै राज्यले जिम्मेवारीपूर्वक दायित्वबोध गरेर दक्ष जनशक्ति उत्पादन एव सरल र सहज रुपमा सेवाको सुरुवात एवं सेवा विस्तारमा तत्कालै पहलकदमी लिनु अत्यन्तै जरुरी भैसकेको छ ।

विश्वका धेरै देशमा बाथरोगका बिरामीहरुबिच एकापसमा सहयोग आदानप्रदान गर्न, रोगसम्बन्धी ज्ञान र अनुभव साटासाट गर्न, रोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्न तथा बाथरोगका बिरामीहरुको आवाज सामूहिक र संगठितरुपले अघि बढाउन बाथरोगसम्बन्धी विभिन्न संगठन(समाजहरु खुलेका छन् । नेपालमा पनि केही बर्ष अघिमात्रै बाथका बिरामीहरु, बिरामीका आफन्तजन, शुभचिन्तक, तथा यस क्षेत्रमा काम गर्ने चिकित्सक एवं स्वास्थ्यकर्मीको पहलमा ‘नेपाल बाथरोग मैत्री समाज’को स्थापना भई क्रियाशील रहेको छ । आशा गरौ, यसले बाथका बिरामीको आवाजको पक्षमा सामूहिक र संगठित रुपले अझ बढी पैरवी गर्नेछ । रोगबारे व्यापक जनचेतना अभिवृद्धिका साथसाथै बाथका बिरामीहरुको पीडा, औषधी उपचारबारे बिभिन्न अड्चन र समस्या, सरकारी एवं गैह्र सरकारी सहयोग तथा बाथरोगसम्बन्धी सरल र सहज सेवा विस्तारबारे निरन्तर आवाज बुलन्द गर्ने छ ।

(लेखक पाटन अस्पताल तथा आरोग्य स्वास्थ्य सदन, नेपाल बाथरोग उपचार केन्द्र, ललितपुरसँग सम्बद्ध हुनुहुन्छ ।)