TRENDING

पर्यटकीय राजधानी घोषणापछि पोखराले गर्नुपर्ने काम

गण्डकी प्रदेशको राजधानी पोखरालाई २०८० चैत ४ गते नेपालकै पर्यटकीय राजधानी घोषणा गरियो । तर, पर्यटकीय राजधानीमा हुनुपर्ने सेवा९सुविधा विस्तार गरी यस क्षेत्रलाई थप चलायमान बनाउन सके मात्रै गण्डकी प्रदेश र समग्र नेपालको समृद्धिमा सहयोग पुग्ने देखिन्छ । पर्यटकीय राजधानी घोषित पोखराले गर्नुपर्ने बाँकी काम, योजनाबारे यस लेखमा चर्चा गरिएको छ ।

पर्यटन आधुनिक सेवाहरूको व्यावसायिक प्रयोग गर्दै मनोरञ्जन, विश्राम, आनन्द र व्यवसायका लागि घरबाट टाढा गएर समय बिताउने कार्य र प्रक्रिया हो । यो सामान्यतया आफ्नो वासस्थानभन्दा बाहिरका ठाउँहरूमा फुर्सद मिलाएर लगातार एक वर्षभन्दा कम र २४ घण्टाभन्दा बढी व्यापार, मनोरञ्जन, विश्राम, आनन्द र अन्य उद्देश्यका लागि यात्रा गर्ने र बस्ने प्रकिया हो ।

यो आन्तरिक, यात्रीको आफ्नै देशभित्र वा अन्तर्राष्ट्रिय यात्रीको देश बाहिर हुन सक्दछ । जबकि पर्यटक आफ्नो दैनिक परिवेश वा वासस्थानबाट बाहिर गएर एक वर्षभन्दा कम र २४ घण्टाभन्दा बढी समयको लागि धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक कार्य, मनोरञ्जन, विश्राम, आनन्द वा अन्य उद्देश्यको लागि यात्रा गर्ने यात्री हो ।

पर्यटन ऐतिहासिक ग्रिक र रोम सभ्यताको समयमा पनि थियो । आधुनिक पर्यटनको युग सत्रौं शताब्दीको अन्त्यतिर सुरु भएको देखिन्छ । नेपालमा भने आधुनिक पर्यटनको थालनी वि.सं. २००७ मा नेपाल विश्वका लागि खुला भएपछि सुरु भएको मानिन्छ ।

डा. गिरिधारी शर्मा पौडेल
पर्यटनले उदीयमान अर्थतन्त्र र नेपाल जस्ता विकासोन्मुख देशको विकासको लागि ठूलो अवसर प्रदान गर्दछ । यसले रोजगारी सिर्जना गर्छ, स्थानीय अर्थतन्त्रलाई बलियो बनाउँछ । स्थानीय पूर्वाधार विकासमा योगदान पुर्‍याउँछ । प्राकृतिक वातावरण, सांस्कृतिक सम्पदा र परम्पराको संरक्षण गर्न र गरिबी र असमानता कम गर्न मद्दत गर्दछ । यसको सबभन्दा ठूलो योगदान विदेशी मुद्राको प्राप्ति र देशको व्यापार सन्तुलनमा हुन्छ ।

सन् २०२३ मा पर्यटन क्षेत्रले विश्वको कुल गार्हस्थ्य उत्पादनमा ९.५ प्रतिशतको योगदान गरेको थियो । यो क्षेत्रको योगदान बढ्दै गएर सन् २०३३ सम्ममा १५.५ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।

विश्व बैंकको आर्थिक वर्ष २०७८र७९ को अनुमान अनुसार पर्यटन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा ६.७ प्रतिशतको योगदान गरेको थियो । यस क्षेत्रको कुल वार्षिक आय २.२ अर्ब अमेरिकी डलर बराबर थियो । यस क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष गरी देशको कुल रोजगारीमा झन्डै ७ प्रतिशतको योगदान गरेको छ ।

गण्डकी प्रदेशको सन्दर्भमा यस क्षेत्रले प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा प्रत्यक्ष रूपमा ४ प्रतिशत र अप्रत्यक्ष ६ प्रतिशत गरी कुल १० प्रतिशतको योगदान छ । त्यसकै हाराहारीमा नियमित र म्यादी रोजगारी सिर्जना गरेको छ ।

गण्डकी प्रदेशका जनताले पर्यटकीय राजधानी पोखरा घोषणाले पर्यटन क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याउने अपेक्षा गरेका छन् । आशा गरौं, जनताको यो अपेक्षामा कुनै तुषारापात नहोस् । यस कार्यलाई सफल बनाउन निजी क्षेत्रका पर्यटन व्यवसायी, संघीय र प्रदेश सरकार, पोखरा महानगर र प्रदेशभित्रका अन्य स्थानीय तहले गर्नुपर्ने बाँकी कामहरूमा सघन सहकार्य गरून् र सफलता प्राप्त होस् ।

हुनत पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्दा कुनै सर्वस्वीकार्य मापदण्ड पूरा गरेर वा भविष्यमा यो घोषणाले अपेक्षित नतिजा हासिल गर्ने कुनै भावी मार्गचित्र तयार गरेर गरिएको छैन । यो घोषणा अर्थतन्त्रमा देखिएका मन्दीका लक्षणलाई दूर गर्न, नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन र पोखरालाई देशभित्र र बाहिर चिनाउन पर्याप्त तयारी विनै घोषणा गरिएको छ ।

घोषणाले मात्र पोखराले पर्यटकीय राजधानीले गर्नुपर्ने क्रियाकलापको प्रभावकारी कार्यान्वयन गर्न सक्दैन । यसको सफलताको लागि पर्यटकीय राजधानी शहरले गर्नुपर्ने सबै क्रियाकलापको सूक्ष्म कार्ययोजना बनाई क्रमशः कार्यान्वयन गर्नुपर्दछ । अन्यथा यो राजनीतिक भाषणमा सीमित हुने र पोखराको द्रुत विकास गर्ने जनचाहनामा तुषारापात हुने खतरा देखिन्छ ।

पर्यटकीय राजधानी घोषणा गर्ने चलन नौलो होइन । अन्य देशले पनि आफ्ना शहरहरूलाई पर्यटन राजधानी घोषणा गर्ने गरेका छन् । भारतको महाराष्ट्र प्रदेशले ऐतिहासिक स्मारकलाई आधार मानी औरङ्गवाद शहरलाई प्रदेशको पर्यटकीय राजधानी शहर घोषणा गरेको छ ।