TRENDING

सगरमाथा आरोहीका लागि विद्युतीय चिप्स अनिवार्य

काठमाण्डौ । गएको वर्ष सगरमाथा आरोहणका क्रममा १२ जनाको ज्यान गयो । अरु पाँच जना हराइरहेका छन् । हराइरहेकाहरु कुन क्षेत्रमा वा कस्तो अवस्थामा छन् भन्ने यकिन छैन । उनीहरु बाँच्ने सम्भावना त हुँदैन तर कस्तो अवस्थामा ज्यान गुमाए र शव कस्तो ठाउँमा छ भन्ने यकिन समेत भएको छैन ।

यसैगरी सगरमाथामा हरेक वर्ष कोही न कोही आरोही हराउँछन् । उनीहरुको शव खोज्न कठिन हुँदै आएका छन् । सगरमाथामा आरोही हराउने र हिउँभित्र खोज्न समस्या हुने समस्यालाई कम गर्न सरकारले यही आरोहणयामबाट आरोहीहरूका लागि विद्युतीय चिप्स अनिवार्य गरेको छ । आरोही हराएमा तत्कालै उनीहरु कहाँ छन् भनेर जानकारी लिन र ज्यान गइसकेको अवस्थामा शव खोज्न पनि सजिलो होस भनेर विद्युतीय चिप्स अनिवार्य गरेको पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले बताउनुभयो ।

पर्वतारोहीका लागि यस्तो चिप्स विभागले सम्बन्धित एजेन्सीमार्फत् उपलब्ध गराउँछ । यसका लागि आरोहीले १० देखि १५ अमेरिकी डलर अर्थात् झण्डै दुई हजार रुपैयाँ सम्म तिर्नु पर्छ । पर्वतारोहीको ज्याकेटमा जडान गरिने विद्युतीय चिप्सले पर्वतारोहण थप सुरक्षित बनाउने आशा छ । तत्काल उद्धारसँगै चिप्स लामो समयसम्म रहने भएकाले शवको खोजीका लागि पनि महत्वपूर्ण हुने गुरुङको भनाइ छ । हिजोआज आरोहीहरूले प्रयोग गर्दै आएका मोबाइल वा जीपीएस उपकरणको ब्याट्री निश्चित समयमा सकिन्छ ।

चिप्सले भने लामो समयसम्म काम गर्ने भएकोले बढी उपयोगी हुने र हिमपहिरोमा परेका समयमा कैयौँ फिट हिउँमुनि आरोही पुरिएको हुनसक्ने अवस्थामा पनि चिप्सबाट पत्ता लगाउन सकिने विभागको दाबी छ । पर्वतारोहीहरूलाई थप सुरक्षित बनाउने विषय भएकाले चिप्स जडान गर्ने निर्णय सकारात्मक रहेको नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले बताउनुभयो । यस्तो चिप्स युरोप तथा अमेरिका लगायतका देशमा हुने आरोहणमा लामो समयदेखि प्रयोग भइरहेको छ । नेपालमा पनि केही कम्पनीहरुले यसअघि नै प्रयोगमा ल्याएका छन् । तर अब सरकारले सबैका लागि अनिवार्य गरेको हो ।