TRENDING

त्रिशूली नदीलाई ‘पर्यटकीय सम्पदा नदी’ घोषणा गरी संरक्षण गर्न माग

काठमाडौ । पर्यटन व्यवसायीहरूले त्रिशूली नदीलाई ‘पर्यटकीय सम्पदा नदी घोषणा गरी संरक्षण गर्न माग गरेका छन् । त्रिशूली नदीमा ड्याम बनाएर १०० मेघावाट क्षमताको सुपर त्रिशूली जलविद्युत परियोजना सञ्चालन गर्न प्रयास भइरहेको प्रति ध्यानाकर्षण भएको भन्दै नेपाल नदी संरक्षण संस्था र नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिजले यस्तो माग गरेका हुन् । उनीहरूले यसबारे सर्वोच्च अदालतमा मुद्दा समेत दायर गरेका छन् । नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले त्रिशूली नदी धार्मिक र सांस्कृतिक हिसावले समेत महत्वपूणर् रहेको भन्दै यसलाई संरक्षण गरेर राख्नुपर्ने बताए ।

नदीमा जलविद्युत बाँध निर्माण र अतिक्रमणले साहसिक जलयात्रा पर्यटन पूणर्रुपमा विस्थापित हुने उनीहरूको भनाइ छ । त्यसबारे सर्वोच्च अदालतमा परेको रिटमा मंगलबारका लागि पेशी तोकिएको र सम्बन्धित सबैलाई छलफलका लागि बोलाइएको अध्यक्ष आलेले जानकारी दिए । त्रिशूलीमा नुवाकोटको देवीघाटदेखि चितवनको देवघाटसम्मको नदी खण्डमा साहसिक जलयात्रा हुने गरेको छ भने त्यस क्षेत्रमा विभिन्न पर्यटकीय गतिविधिहरू हुने गरेका छन् ।