TRENDING

१० वर्षे शसस्त्र द्वन्द्वको प्रतिबिम्ब उपन्यास सइन बजारमा

काठमाडौं । शसस्त्र द्वन्दकालिन घटनाहरुको प्रतिबिम्बहरुलाई समेटेर तयार पारिएको उपन्यास सइन बजारमा आएको छ । धादिंगका सर्जक यात्री प्रकाश पाण्डे द्धारा लिखित यस उपन्यासलाई साँग्रीला पब्लिकेशनले बजारमा ल्याएको हो । उपन्यास सइनले शसस्त्र द्वन्दको वास्तविक कथालाई जस्ताको तस्तै उजागर गरेको छ ।

कोरोना कहरका बिच बजारमा आएको यस उपन्यास सइन विमोजन कार्यक्रम हुन नसकेतापनि यस पुस्तकमाथिको अन्तर्क्रिया कार्यकम भने शनिबार सम्पन्न भएको छ । पहिलो संस्करण सकिएकोले दोस्रो संस्करण प्रकाशनका लागि लेखकलाई पाठकिय प्रतिक्रिया र समालोचकिय पृष्ठपोषणको जरुरत पर्ने हुँदा उक्त अन्तर्क्रिया कार्यक्रम राखिएको साँग्रीला पब्लिकेशनले जनाएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सम्पन्न अन्तर्क्रिया कार्यक्रममा ख्यातिप्राप्त आख्यानकार एवं लेखक नयनराज पाण्डे र उपन्यासकार एवं आख्यानकार निलम कार्की निहारिका लगायत साहित्यकार एवं पाठकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

वक्ताहरुले नेपालमा भएको दशवर्षे जनयुद्धको घाउ अझैसम्म पनि नेपालीहरुको जनजीवनमा निको नभै सइन पल्टिएर दुखाइरहेको र घाउ भोगेकाहरु अझै तँग्रिन नसकेको बताउनुभयो । साथै विगतमा भएको शसस्त्र द्वन्दको घाउ कहिल्यै निको नहुने सइनको रुपमा देखापरेको कुरालाई निकै यस किताबमा निकै प्रतिकात्मक ढंगले व्यक्त गरीएको पनि वक्ताहरुले बताउनभयो ।

कार्यक्रममा बोल्दै आख्यानकार नेहारिकाले १० वर्षे शसस्त्र जनयुद्धको बारेमा यथार्थ बुझ्नका लागि हरेक व्यक्तिले सइन पढ्नु जरुरी रहेको बताउनुभयो । साथै सेनाको कार्यको प्रशंसा गर्दै सेनालाई राष्ट्रसेवक किन भनिएको हो बुझ्नका लागि पनि यस उपन्यास पढ्नुपर्ने बताउनुभयो । डायमन शमसेरद्धारा लिखित उपन्यास सेतोबाघ बजारमा आएको निकै समयपछिमात्र चर्चाको शिखरमा पुगेको प्रशंग उल्लेख गर्दै उहाँले यात्रीद्धारा लिखित उपन्यास सइन पनि यस्तै एक विशिष्ठ उपन्यास भएको र यसले हरेक पाठकको मनमस्तिष्कमा अमिट छाप छोड्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

कवि, आख्यानकार तथा निर्देशक हेमप्रभास अधिकारीले संचालन गर्नुभएको सो अन्तक्र्रिया कार्यक्रममा बोल्दै लेखक नयनराज पाण्डेले द्वन्दको परिवेशमा भाषा, शिल्प, शैली र विषयवस्तुमा निकै उचाइको किताब सइन रहेको बताउनुभयो । साथै पहिलो किताब भइकनपनि अब्बल दर्जाका भनिएका उपन्यासहरुको उचाई यस उपन्यास सइनले हाँसिल गरेको भन्दै सबै दृष्टिकोणबाट उत्कृष्ट उपन्यास बजारले पाएको टिप्पणी गर्नुभयो ।

भाषा, भाव, शैली कथानक र शीर्षक सार्थकता लगायत उपन्यासमा आवश्यक सम्पूर्ण तत्वहरुमाथी राम्रो न्याय गरेर लेखिएको उक्त उपन्यास लेखकको पहिलो उपन्यास भएर पनि निकै सफल कृति भएको कुरा वक्ताहरुले प्रष्ट पार्नुभएको थियो ।