TRENDING

पटका पड्काउँदा निम्तिन सक्ने मानसिक समस्या

काठमाडौं । तिहार यस्तो चाड हो, जसले पशुपक्षी र पर्यावरणसँग जोडिएर बाँच्न प्रेरित गर्छ । तिहारमा हामी काग, गाई, गोरु, कुकुरको पूजाआजा गर्छौं । झिलिमिली बत्ती र फूलले घरलाई सजाउँछौं ।

पशुपक्षी र वातावरणलाई पुज्ने यो पर्वमा आजभोलि यसको मर्मविपरीत पटका पनि पड्काउने चलन छ । पटका पड्काउँदा उक्त पड्काउने व्यक्तिबाहेक अरू कसैलाई मनोरञ्जन पक्कै हुँदैन । उल्टै पटकामा मानव स्वास्थ्यमा असर गर्ने रसायनको पनि प्रयोग भएको हुन्छ ।

पटका पड्काएपछि धुवाँको माध्यमबाट वायुमण्डलमा पुगी हावामा मिसिने गर्छ । पछि हामीले लिएको श्वासबाट ती खतरनाक धातु मिश्रित रसायन शरीरमा प्रवेश भई फोक्सोसम्म पुग्ने गर्छ र विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्छ । कुनै पनि कुराले हाम्रो शारीरिक स्वास्थ्यलाई हानि गर्छ भने त्यसले कतै त कतै मानसिक स्वास्थ्यमा पनि असर गर्छ ।

तिहारमा यसरी पटका पड्काउँदा त्यसबाट निस्कने ध्वनि प्रदूषण र वातावरण प्रदूषणले मान्छेसँगै पशुपक्षीलाई पनि असर गर्छ । अझ पशुपक्षीका लागि त यो आतंक नै हुन्छ । चर्को आवाजले कुकुरको श्रवणयन्त्रमा गम्भीर असर गर्छ । उनीहरू त्यस्तो आवाजबाट आत्तिएर कुनामा लुक्छ वा अन्यत्र भाग्न चाहन्छ । परेवा, काग वा पक्षीहरू तर्सिएर भाग्छन् ।

कुनै व्यक्ति मानसिक समस्याबाट ग्रस्त छन् भने यस्ता आवाजले उनीहरूलाई अझ बढी समस्या हुन सक्छ । द्वन्द्वकालमा पीडित भएका व्यक्तिलाई पटकाको ठूलो आवाज, त्यसको झिल्का र गन्धले विचलित बनाउँछ । जसकारण डर उत्पन्न हुने, निद्रा नलाग्ने जस्ता समस्या निम्तिन सक्छन् ।
त्यसैले यदि कसैले आफ्नो खुसीको लागि पटका पड्काउँछ भने वरपरको व्यक्तिलाई असर पो परिरहेको छ कि भन्ने कुरामा ध्यान दिनुपर्छ । कसैलाई पटका पड्काएर खुसी हुने अधिकार छ भने कसैलाई शान्तपूर्वक बस्न पाउने अधिकार पनि हुन्छ यो कुरा बिर्सनु हुँदैन ।

पटका पड्काउने व्यक्तिले त्यसबाट मनोरञ्जन प्राप्त गरिरहेका हुन्छन् । वास्तवमा यो परपीडक मनोविज्ञानको कारण हुन सक्छ । पटका पड्काउँदा छेउको मान्छे तर्सियो भने ओहो मेरो कारणले तर्सियो डरायो भनेर त्यसले पड्काउने व्यक्तिलाई खुसी दिन्छ । अरूलाई दुस्ख दिंदा खुसी मिल्ने मनोविज्ञानले गर्दा नै पटका पड्काउँदा मान्छे खुसी हुन्छन् ।

ठूलो भवन बनेको कुरामा मान्छे रमाउँदैन । तर त्यही घर भत्किएको हेर्दा मान्छे रमाउँछ । ध्वस्त भएको, भत्किएको, बिग्रिएको कुरामा रमाउने मनोविज्ञान हुन सक्छ ।

पटकासँगै तिहारमा मानसिक स्वास्थ्यलाई असर गर्ने अर्को कुरा अत्यधिक लाइट पनि हो । एकदमै धेरै रङ्गीचङ्गी झिलिमिली लाइटले पनि केही न केही रूपमा मानसिक स्वास्थ्यमा असर गरिरहेको हुन्छ । घरबाहिर धेरै झिलिमिली पार्छौं तर बाहिरसँगै कोठाभित्र पनि त्यस्तो लाइटको प्रयोग गर्नु उपयुक्त हुँदैन । विशेषगरी सुत्ने कोठामा निलो लाइटको प्रयोग गर्नु हुँदैन । यस्तो लाइटले हाम्रो शरीरको मेलाटोनिनलाई घटाउँछ र निद्रा बिगार्छ । लामो समय निद्रा बिग्रियो भने त्यसले मानसिक स्वास्थ्यमा असर गर्न सक्छ । त्यसैले तिहारमा पटका नपकडाउनेसँगै घरभित्र कस्तो लाइट प्रयोग गर्ने भन्ने कुरामा पनि ध्यान दिनुपर्छ ।