TRENDING

दशैं दक्षिणाको अर्थशास्त्र

हिन्दु धर्मावलम्बी नेपालीहरूको सबैभन्दा ठूलो र महत्वपूर्ण पर्व हो, दशैं । १० दिनसम्म मनाइने दशैंका आफ्नै धार्मिक एवं सांस्कृतिक मान्यताहरू छन् । यो पर्वको प्रचलनका पनि आफ्नै धार्मिक एवं पौराणिक कथाहरू छन् । ती कथामा अभिव्यक्त मान्यताहरू पनि क्षेत्र, भूगोल र समुदाय अनुरूप फरक फरक हुन सक्छन् । दशैंका लागि सरकारले समेत आफ्ना कर्मचारीलाई थप एक महिनाको तलबी खर्च सहित लामो बिदा दिने हुनाले यसको धार्मिक, सांस्कृतिक र सामाजिक मात्र होइन, अर्थशास्त्रीय महत्व पनि उत्तिकै छ ।

विगतका वर्षहरूमा दशैंको आगमनसँगै सहरबजारमा किनमेल गर्नेहरूको भीडभाड निकै बढ्ने गर्दथ्यो । तर, यसपटक मुलुकका मुख्य सहरबजारमा उपभोक्ताको उतिसारो भिडभाड नभएको खबर सुनियो । चाडपर्वमा भिडभाड कम हुँदै जानुका मुख्य तीन कारण छन् । पहिलो, विद्यमान आर्थिक संकट । दशैं तिहार जस्ता ठूला पर्वका पूर्वसन्ध्यामा सहरबजारका पसल, सपिङ मल अनि मोटरगाडीका शोरुमहरूमा लाग्ने भीडभाड पनि कमै देखियो ।
विगत लामो समयदेखि देशको अर्थतन्त्र उकासिन सकेको छैन । न्यून उत्पादन, बढ्दो बेरोजगारी र चरम् महंगीका कारण उपभोक्ताको क्रयशक्ति क्षयिकृत हुँदै गएको छ । आर्थिक दुरावस्थाले सर्वसाधारणको खल्ती रित्तिएको मात्र छैन, उनीहरूको आर्थिक जीवन नै उथलपुथल भएको छ । जसका कारण चाडपर्वमा गरिने खर्चमा पनि उल्लेख्य कटौति भएको अनुभूति गर्न सकिन्छ ।

दोस्रो, बढ्दो युवा पलायन । पछिल्लो समय श्रमका लागि मात्र होइन, अध्ययनकै लागि पनि विदेशिने विद्यार्थीहरूको संख्या दिनानुदिन बढ्दो छ । सहरबजारका गल्लीगल्लीमा फस्टाएको कन्सल्टेन्सीहरूको व्यापारले पनि त्यसैको संकेत गरेको छ । सन् २०२२ मा मात्रै कम्तीमा १ लाख २५ हजार विद्यार्थी अध्ययनका लागि विदेशिएको सरकारी आंकडा छ । ती विद्यार्थीहरूले औपचारिक रूपमा बाहिर लैजाने धनराशीको हिसाब नै रु। एक खर्ब बढी हुन आउँछ ।
पछिल्लो समय १८(२२ वर्षकै कलिलो उमेरमा विदेशिने युवाहरूको संख्या अनपेक्षित रूपमा बढ्दै गएको देखिन्छ । ती युवा शक्ति जो मुलुकको अर्थबजारका प्रमुख उपभोक्ता हुन्, उनीहरू विदेशिएका कारण पनि बजारमा सुस्तता आएको अनुमान गर्न सकिन्छ । साथै उनीहरूले विदेश लैजाने ठूलो धनराशीका कारण सम्बन्धित घरपरिवार र नजिकका नातागोतासम्मको क्रयशक्ति घट्दोक्रममा हुँदा बजार गतिशील हुन सकेको छैन ।

तेस्रो, भौगोलिक रूपमा विस्तारिँदै गएको बजार र प्रविधियुक्त भर्चुअल कारोबार । अर्थात्, पहिले पहिले किनमेलका लागि उपभोक्ताहरू खासखास सहरबजारमा धाउने गर्दथे । तर, अहिले चल्तीको पूर्व पश्चिम राजमार्ग, हुलाकी राजमार्ग वा अन्य मुख्य राजमार्गका कैयौं स्थानहरूमा नयाँ बजार बनिसकेका छन् ।

ती राजमार्ग छेउछाउ विस्तार भएका बजारले नजिकैको ठूलो सहरमा केन्द्रित हुने उपभोक्तालाई रोकिदिन्छन् । परिणामस्वरूप बुटवल, पोखरा, भैहरवा, नारायणगढ, हेटौंडा, लाहान, इटहरी जस्ता सहरहरूको आर्थिक कारोबार घट्न गएको अनुमान गर्न सकिन्छ । यसका अलवा सूचना प्रविधि र इन्टरनेटको प्रयोगसँगै बढ्दै गएको अनलाइन माध्यमबाट हुने भर्चुअल कारोबारले पनि सहरबजारमा उपभोक्ताहरूको भौतिक उपस्थिति घट्न गएको हुनसक्छ ।

चाडपर्वमा रमाउनु आम नेपालीहरूको संस्कार नै बनिसकेको छ । त्यसमाथि पनि दशैंको विशेष पारिवारिक, सामाजिक एवं सांस्कृतिक महत्व छ । दशैंमा लामो सार्वजनिक विदा हुने र विद्यालय, विश्वविद्यालयहरूमा पनि लामो समय विदा हुने भएकाले अध्ययन र कामका सिलसिलामा गाउँघर छाडेर सहरबजार बस्ने लाखौं मानिसहरूका लागि दशैंको समय सामाजिक र पारिवारिक मिलनको समय हुने गरेको छ ।

बालबालिकाको दक्षिणा रकमलाई वित्तीय संस्थाहरूमा क्रमिक बचतको रूपमा राख्न सकिन्छ । त्यसैगरी दक्षिणाको रकमलाई उनीहरूकै समुज्ज्वल भविष्यका लागि शिक्षा, स्वास्थ्य र जीवन बिमाका लागि पनि उपयोग गर्न सकिन्छ । बिमा एउटा यस्तो माध्यम हो जहाँ जोखिम बहन हुनुका साथै अनिवार्य बचतसमेत हुने गर्दछ ।
दशैंमा हुने सामाजिक एवं पारिवारिक भेटघाट र सम्पर्कको पाटोलाई हेर्दा यसलाई सामाजिक सद्भाव विस्तारको उपयुक्त अवसर मान्न सकिन्छ । त्यसैले दशैं वास्तवमै पारिवारिक मिलन र नाताकुटुम्बसँगको सामिप्यता बढाउने पर्व हो । यसले सामाजिक सद्भाव र भाइचारालाई प्रगाढ बनाउँछ । वर्षौंदेखि टाढिएका आफन्तजनसँगको भेट नै दशैंको मुख्य आकर्षण बन्ने गरेको छ ।

बिदामा घुमफिर गर्न रुचाउने कतिपय मानिसहरूका लागि घुम्ने अवसर पनि दशैंले उपलब्ध गराइदिएको छ । गाउँ छाडेर सहर पसेकाहरूलाई दशैं गाउँघरको नाता सम्बन्ध नवीकरण गर्ने अवसर बन्ने गरेको छ । दशैंको धार्मिक, सांस्कृतिक एवं सामाजिक महत्व एकातिर छ भने चाडपर्वले निर्माण गर्ने उपभोग संस्कृति पछिल्लो समय यथार्थता हो ।

यो संस्कृति निकै जब्बर रूपमा स्थापित हुँदै गएको छ । दशैं, तिहार, छठ, क्रिसमस, तीज, ल्होसारजस्ता चाडपर्वहरूमा बढेको उपभोगको संस्कारले भने समाजमा एक खालको देखावटीपनको विकास गरिदिएको छ । यसले समाज, टोल छरछिमेकमा आफ्नो हैसियत कायम राख्नकै लागि रिनधन नै गरेर भएपनि चाडपर्व मनाउनुपर्ने बाध्यता स्थापित गरिदिएको छ ।

यस्ता पर्वहरूमा आम जनसाधारणको फजुल खर्च पनि बढ्ने हुँदा त्यसले व्यक्तिको आम्दानी र खर्चको सन्तुलनलाई त असर पर्छ नै दशैंतिहार तथा चाडपर्वहरूमा गरिने फजुल र अनावश्यक खर्चले मुलुकको अर्थतन्त्र पनि अनुत्पादक बन्दै गइरहेको छ । यसले समाजलाई पनि भड्किलो र देखावटी बनाइरहेको छ ।

पूँजीवादी अर्थतन्त्रमा उपभोग नै मुख्य विषय हो । चाडपर्वले उपभोगलाई जोड दिन्छ । उपभोग नै उत्पादनको आधार भएकाले जे जसरी हुन्छ आम मानिसको उपभोगलाई बढाउने नै ध्येय हुन्छ । त्यसैले पूँजीवादी अर्थव्यवस्थाका हिमायतीहरू हरहालमा आम उपभोक्तालाई वस्तु तथा सेवाको उपभोग गराउन मै उद्दत रहन्छन् ।

त्यसो त उपभोग बढ्दा अर्थतन्त्रमा पुँजी निर्माणको प्रक्रिया पनि बढ्ने र अन्ततः त्यसले अर्थतन्त्रको आयतन बढाउने सैद्धान्तिक व्याख्या पनि छ । तर, हाम्रो जस्तो मूलतः आयातकेन्द्रित व्यापारमै निर्भर अर्थतन्त्रमा भने अनावश्यक रूपले उपभोग बढ्दै जाँदा त्यसले अर्थतन्त्रको आयतन बढाउने भन्दा त्यसलाई खुम्च्याउने गरेको दृष्टान्त छ ।

आयातमै उन्मुख दशैं अर्थतन्त्रले भने मुलुकको व्यापार घाटा मात्रै बढाएको छ । जुन मुलुकमा दैनन्दिनीका अत्यावश्यक उपभोग्य वस्तुहरूसमेत सम्पूर्ण रूपले आयातमा निर्भर रहनुपर्छ, त्यो देशको लागि उपभोगवादी संस्कृति कदापि फलदायी हुँदैन । यस्तो व्यापारले अर्थतन्त्रलाई चलायमान त बनाउँछ, तर प्रकारान्तरमा त्यसले ठूलो पैमानामा व्यापार घाटा हुन गई मुलुककै अर्थतन्त्र धाराशायी हुन पुग्छ ।

पछिल्लो समय देखिएको चरम आर्थिक संकट र सरकारी कोषमा घट्दो असन्तुलनको मुख्य कारण नै सरकारी खर्च बढ्दै जानु तर, आम्दानीमा भने संकुचन आउनु हो । मुलुकको समग्र नगद प्रवाहको विवरण हेर्ने हो भने केवल आयातले मात्र होइन, सेवा क्षेत्रबाटसमेत धनराशी बाहिरिएको छ । माथि उद्धृत गरिएजस्तो अध्ययनका नाउँमा पलायन हुँदै गएका युवा विद्यार्थीले ठूलो धनराशी देशबाहिर लगेका छन् ।