TRENDING

पाँच महिनामा ११ अर्ब ८० करोडको विद्युत भारत निर्यात

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपियाँको विद्युत भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।

प्राधिकरणले चालू आर्थिक वर्ष २०८०र८१ को साउन, भदौ र असोज ३ महिनामा नौ अर्ब ६४ करोड ५४ लाख रुपियाँको विद्युत भारतर्फ निर्यात गरेको छ । असोज महिनामा मात्र चार अर्ब दुई करोड ३५ लाख रुपियाँको विद्युत निर्यात गरिएको छ ।

तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट १० रुपियाँ २७ पैसा रहेको छ । गत जेठ महिनाका पाँच दिनमा ४० करोड पाँच लाख र असारमा एक अर्ब ७५ करोड ७० लाख रुपियाँको विद्युत भारतर्फ निर्यात भएको थियो । जेठ र असारमा भारतर्फत निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट नौ रुपियाँ ६७ पैसा थियो ।

साउनमा दुई अर्ब १४ करोड ३३ लाख, भदौमा तीन अर्ब ४७ करोड ८५ लाख र असोजमा चार अर्ब दुई करोड ३५ लाख रुपियाँको विद्युत भारतीय बजारमा निर्यात भएको छ । तीन महिनामा नौ अर्ब ६४ करोड ५४ लाख रुपियाँको विद्युत निर्यात भएको हो ।

साउन, भदौ र असोजमा भारतर्फ निर्यात गरिएको विद्युतको औसत बिक्री दर प्रति युनिट क्रमशः स् ८ रुपियाँ ४३ पैसा, ११ रुपियाँ ९७ पैसा र १० रुपियाँ २० पैसा रहेको छ । तीन महिनाको विद्युत समग्र औसत बिक्री दर प्रति युनिट १० रुपियाँ २७ पैसा छ । विद्युत निर्यातबाट नेपाल र भारतबिचको व्यापार घाटा कम गर्न र देशको विदेशी मुद्रा सञ्चितिमा योगदान पुगेको छ ।