TRENDING

१२ सय ६० विद्युतीय सवारीसाधन आयात

सिन्धुपाल्चोक । भूकम्पपछि चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीबाट व्यापारिक कारोबार सहज हुँदै जाँदा विद्युतीय सवारीसाधनको आयात बढ्दै गएको छ । मुलुकमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएका कारण चीनबाट हुने आयात पनि बढेको हो । गत वर्षको तुलनामा चालु वर्षमा निजी र सार्वजनिक सवारीसाधनको आयात बढेको छ । सवारीसाधनको आयातले राजस्व संकलनमा सकारात्मक प्रभाव पारेको छ ।
१२ सय ६० विद्युतीय सवारीसाधन आयात
तातोपानीबाट चालु वर्षको ९ महिनामा साढे ३ अर्ब मूल्य बराबरका १२ सय ६० विद्युतीय सवारीसाधन आयात भएका छन् । गत वर्ष २ सय ६० वटा सवारीसाधन मात्र आयात भएका थिए । तीमध्ये १२ वटा पेट्रोल गाडी र ४ वटा लरी थिए । चालु वर्षको यस अवधिमा गत वर्षको भन्दा १ हजार बढी इलेक्ट्रिक सवारीसाधन आयात भएका छन् । उक्त नाकाबाट विद्युत्बाट सञ्चालन हुने माइक्रोबस, मिनीबस, जिप, भ्यान, कारजस्ता सवारीसाधनको आयात बढेको हो । चालु वर्षको यस अवधिमा इलेक्ट्रिक र पेट्रोल गाडीको आयातबाट १ अर्ब २५ करोड ३१ लाख १६ हजार रुपैयाँ राजस्व संकलन भएको छ । पेट्रोल गाडीबाट करिब २२ लाख राजस्व संकलन भएको छ । चालु वर्षको यस अवधिमा एक थान पेट्रोल गाडीबाहेक सबै गाडी इलेक्ट्रिक रहेका छन् ।
तातोपानी भन्सार अधिकृत तथा सूचना अधिकारी सूर्य काफ्लेका अनुसार चालु वर्षको चैत मसान्तसम्ममा ३ अर्ब ४९ करोड ३७ लाख ६० हजार मूल्य बराबरका सवारीसाधन आयात भएका छन् । खरिद र भन्सारमा ल्याउँदासम्मको मूल्यअनुसार भन्सार दरबन्दी कायम गरिएको छ । गत आवमा १ अर्ब ६७ करोड ४४ लाख मूल्यका सवारीसाधन आयात भएका थिए । त्यसबाट ५ करोड १० लाख राजस्व संकलन भएको थियो । चालु आवमा भने राजस्व संकलन गत वर्षको तुलनामा १ अर्ब नै बढी भएको छ । आयात गरिएका सवारीसाधनको बजार मूल्य ४० देखि ८० लाख रुपैयाँसम्म कायम गरिएको छ । भन्सारका अनुसार एकजी, सेरिज, ओमोडा, डिपाल नामका कार तथा डीएफएसके नामका माइक्रोबस आयात भएका छन् ।