TRENDING

रेमिट्यान्सको ६८.४१ प्रतिशत घरजग्गामा खर्च

काठमाडौँ । वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रेमिट्यान्समध्ये करिब साढे ६८ प्रतिशत घरजग्गा खरिदमा खर्च भएको नेपाल राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।

वैदेशिक रोजगारीमा संलग्न श्रमिक र परिवारका सदस्यले त्यहाँबाट पठाएको रकम एकभन्दा बढी क्षेत्रमा लगानी गरेको र सबैभन्दा बढी औसत ६८।४१ प्रतिशत घर निर्माण वा घरजग्गा खरिदमा खर्च हुँदै आएको प्रतिवेदनले औंल्याएको हो । नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयले ‘लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभाव’ शीर्षकमा गरेको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।

घरजग्गा निर्माण तथा खरिदपछि रेमिट्यान्समार्फत प्राप्त रकम बैंक बचतमा ६६.०२, सुनरचाँदी खरिदमा ५२.६७, व्यापार व्यवसायमा १२.२७, सामाजिक कार्यमा १२.०१, व्यक्तिगत लगानीमा ९.१४ र सेयर खरिदमा ४.४४ प्रतिशतले लगानी हुँदै आएको प्रतिवेदनले जनाएको छ ।

रेमिट्यान्समार्फत प्राप्त रकमको सबैभन्दा बढी ५८.७८ प्रतिशत दैनिक उपभोगमा खर्च हुँदै आएको पनि प्रतिवेदनको निष्कर्ष छ । ‘अध्ययनमा समेटिएका वैदेशिक रोजगारीमा संलग्न श्रमिकको पारिवारिक खर्च संरचनामा सबैभन्दा बढी दैनिक उपभोगमा ५८.७८, शिक्षा र स्वास्थ्यमा २२.४८, ऋण तिर्न १०.०७ र मनोरन्जन तथा अन्यमा ८.६७ प्रतिशत खर्च गर्ने गरेका छन्,’ अध्ययन प्रतिवेदनमा भनिएको छ ।