TRENDING

साढे १२ खर्ब निक्षेप र सवा २ खर्ब कर्जाको बिमा

काठमाडौँ । सर्वसाधारणको सवा ४ करोड खातामा रहेको करिब १२ खर्ब ३३ अर्ब रुपैयाँ बराबर निक्षेपको बिमा सुरक्षण भएको छ । व्यक्तिगत प्राकृतिक व्यक्ति खातामा रहेको निक्षेपको प्रतिखाता न्यूनतम ५ लाख रुपैयाँ बिमा गर्नुपर्ने प्रावधानअनुसार गत असारसम्म १२ खर्ब ३२ अर्ब ९५ करोड रुपैयाँ बिमा भएको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको यो रकम करिब साढे ३ खर्ब रुपैयाँले बढी हो । वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्था निर्धन उत्थान र छिमेक गरी ५६ वटा संस्थामा रहेको व्यक्तिगत खाताको रकम बिमा भएको हो ।

अघिल्लो आर्थिक वर्षमा ६२ वटा वित्तीय संस्थाको ३ करोड ६१ लाख ४३ हजारवटा खातामा रहेको ८ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेपको बिमा भएको थियो । गत वर्षदेखि सरकारले व्यक्तिगत खातामा रहेको ५ लाख रुपैयाँसम्म निक्षेपको बिमा हुने व्यवस्था निर्णय गरेको थियो । त्यसअघि यस्ता प्रतिखाता ३ लाख रुपैयाँको मात्र बिमा हुने व्यवस्था थियो ।