TRENDING

भैरहवाबाट यात्रुलाई काठमाडौँ हुँदै हङकङ र दिल्ली उडान

काठमाडौँ । नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ हुँदै हङकङ र नयाँ दिल्ली उडान गर्ने भएको छ । गत जेठ ३० गतेदेखि निगमले साताको एक दिन क्वालालम्पुर–भैरहवा–काठमाडौँ उडान गर्दै आएको छ । अब मङ्गलबारदेखि सोही जहाजमा भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई काठमाडौँ ल्याएर निगमकै अर्को उडानबाट गन्तव्यमा पठाउन लागिएको हो ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवाबाट काठमाडौँसम्म यात्रुलाई निःशुल्क रूपमा उडाएर काठमाडौँ–दिल्ली र काठमाडौँ–हङकङकै भाडादरमा उडान सुरु गर्न लागेको हो ।

उहाँले भन्नुभयो, “भैरहवाबाट बिहान ९ बजे काठमाडौँ ल्याएका यात्रुलाई ११ बजे निगमको हङकङ उडान र दिउँसो १ बजे दिल्ली उडानमार्फत यात्रुलाई गन्तव्य मुलुकमा पठाइने छ । यस अन्तर्गत पहिलो उडानका क्रममा निगमले यही मङ्गलबार बिहान ८ः३० बजे भैरहवाबाट यात्रु लिएर काठमाडौँ आउने छ ।”

उहाँले निगमको जहाजले मलेसियाबाट भैरहवामा अवतरण हुँदा खाली भएका सिटमा हङकङ र दिल्ली जाने यात्रु बोकेर काठमाडौँ आउने बताउनुभयो । अहिले निगमले काठमाडौँ–मलेसिया–भैरहवा रुट बनाएर उडान गरिरहेको छ । निगमको न्यारोबडी जहाज सोमबार काठमाडौँबाट मलेसिया जाने छ । उक्त जहाज मङ्गलबार मलेसियाबाट भैरहवा आउने छ ।

उहाँका अनुसार भैरहवा–हङकङ र भैरहवा–दिल्ली उडानको लागि टिकट खुला भइसकेको छ । सोमबारबाट यो रुटको उडानका लागि टिकट बुकिङ गर्न सकिने छ । यसअघि निगमले भैरहवाबाट सिधै दिल्ली उडानको तयारी गरे पनि भारतले उडान अनुमति दिएको छैन । निगमले काठमाडौँ–दिल्ली–भैरहवा हुँदै काठमाडौँ उडान गर्न नागरिक उड्डयन प्राधिकरणमा स्वीकृति प्रस्ताव पठाएको थियो । अन्तर्राष्ट्रिय उडानका लागि दुवै देशका नियामक निकायसँग अनुमति लिनुपर्ने भएकाले भारतको नियामक निकायले अनुमति नदिँदा उडान सुरु हुन सकेको छैन ।