TRENDING

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढयो

काठमाडौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँले मूल्य बढाएको छ । गएरातिदेखि लागू हुने गरी निगमले मूल्यवृद्धि गरेको हो ।

अब पेट्रोल प्रतिलिटर एक सय ७८, डिजल र मट्टीतेल प्रतिलिटर एक सय ६१ रुपैयाँ पुगेको छ । नयाँ मूल्यअनुसार अब पहिलो वर्गअन्तर्गतको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य एक सय ७५ रुपैयाँ ५० पैसा तोकिएको छ । यस्तै दोस्रो वर्गअन्तर्गतको सुर्खेत र दाङका लागि एक सय ७७ रुपैयाँ कायम भएको छ । तेस्रो वर्गअन्तर्गतको काठमाण्डौ, पोखरा र दिपायलका लागि पेट्रोलको मूल्य एक सय ७८ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

नेपाल आयल निगम लिमिटेडका अनुसार इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरीद मूल्य अनुसार पेट्रोलियम पदार्थको प्रतिलिटर दुई रुपैयाँ ९६ पैसा र डिजेलको प्रतिलिटर तीन रुपैयाँ ४६ पैसा मूल्य बढेर आएको छ । सोहीअनुसार मूल्य समायोजन गरिएको हो ।