TRENDING

आठ सय कृषि फार्मलाई अनुदान

काठमाडौ । व्यावसायिक पशुपक्षी फार्म र कृषि फार्म सञ्चालन गर्ने किसानलाई गण्डकी प्रदेश सरकारले अनुदान दिएको छ । गत आवमा पशुपक्षीतर्फ चार सय ८१ र कृषिमा तीन सय ७३ वटा गरी कुल आठ सय ५४ वटा फार्मले कुल लागतको ५० प्रतिशत अनुदान पाएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख डा गृष्म न्यौपानेका अनुसार पशुपक्षीपालक किसानलाई रु सात करोड ८६ लाख र व्यावसायिक कृषिखेती गर्ने किसानलाई रु आठ करोड अनुदान रकम उपलब्ध गराइएको थियो । “साना व्यावसायिक पशुपक्षी र कृषि फार्म लक्ष्य गरी गत वर्ष अनुदान कार्यक्रम सञ्चालन गरिएको थियो”, डा न्यौपानेले भने, “चालु आवमा भने यो कार्यक्रम छैन, प्रोत्साहन सहयोगका अन्य कार्यक्रम राखिएको छ ।”

मन्त्रालयमार्फत कृषि अनुदान तथा प्रोत्साहनमा बर्सेनि बजेटको ठूलो हिस्सा खर्च हुने गर्छ । कृषि अनुदानको दुरुपयोग बढेपछि पछिल्लो समय उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गर्न थालिएको छ । वास्तविक व्यावसायिक पहिचान गरी प्रोत्साहन रकम उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।