TRENDING

अहिले चामलमा मूल्यवृद्धि गर्नुपर्ने कुनै कारण छैन, गरेको भेटिएमा कारबाही हुन्छु

काठमाडौ । अन्तर्राष्ट्रियस्तरमै अर्थात् स्रोत देशमै मूल्यवृद्धि भयो भने त्यो चामल आउँदा हाम्रो बजारमा त्यसको असर पर्ने नै हुन्छ । तर भएको मौज्दातमा मूल्यवृद्धि गर्नुपर्ने कारण छैन । व्यवसायीहरूले पनि पुरानो मौज्दातमा मूल्यवृद्धि हुन दिने छैनौँ र अनुगमनलाई पनि सहजीकरण गर्छौँ भनेर भनेका छन् । हामीहरू निरन्तर सम्पर्कमै छौँ । तर पनि हामीले बजार अनुगमन गर्दा यदाकदा खुद्रा पसलहरूमा मूल्यवृद्धि भएकोजस्तो देखिएको छ ।

किन मूल्यवृद्धि भयो भन्दा उनीहरूले थोक बिक्रेताहरूबाटै भाउ बढेर आएको छ भन्ने गरेका छन् । हामी त्योभन्दा बाहेक अर्को चरणमा गएर अध्ययन गर्दैछौँ । त्यो अध्ययन गर्दा थोक बिक्रेताहरूबाट पनि अर्को आयातकर्ता वा उत्पादककहाँ पुग्नुपर्नेजस्तो अवस्था देखिएको छ । उनीहरूले केही तर्कहरू दिएका छन् । ती तर्कहरू कति सत्यको नजिक छन् भन्ने अध्ययन गर्दैछौँ । जस्तो व्यवसायीहरूका अनुसार चामलको मूल्य बढ्ने कारण भनेको धान किनेर राखेपछि घुनपुत्ला लाग्छ, सुकेर भुस सातरआठ प्रतिशत जान्छ भन्ने छ । केही हदसम्म किरा लाग्छ । बैंकको ब्याज पनि बढिरहेको हुन्छ ।

अर्को भनेको ढुवानी खर्च पनि बढी छ । त्यो भनेको नेपालगञ्जको धान विराटनगर गयो, अनि विराटनगरमा कुटेर प्याक गरेर काठमाण्डौ पुर्‍यायो भने ढुवानी खर्च बढी लाग्ने हो । यसो गर्दा दोहोरो ढुवानी खर्च लाग्यो । अहिले ढुवानीमा पनि भ्याट लाग्ने गरेको छ । यो व्यवसायीहरूको कुरा भयो । यतातिर नजाउँ । यी तर्कहरू कति सत्यको नजिक छन् भन्ने अध्ययन गर्दैछौँ ।

अर्को कुरा, सरकारले बजार हस्तक्षेप गर्ने उद्देश्यले साल्ट ट्रेडिङ कर्पोरेशनको आठ वटा बिक्री केन्द्रबाट काठमाण्डौ उपत्यकाभित्र सुपथ मूल्य पसलबाट चामल बिक्री गर्दैछ । यसको अर्थ मूल्यवृद्धि हुन नदिनका लागि सरकार निरन्तर लागिरहेको छ । अवाञ्छित रूपले मूल्यवृद्धि भएको पाइएमा कानुन बमोजिम कारबाही हुन्छ ।