TRENDING

बढ्यो विद्युतीय सवारीको आयात

काठमाडौं । विद्युतीय सवारी साधनलाई प्रबर्द्धन र प्रोत्साहन गर्ने सरकारको स्पष्ट नीति नहुँदा समेत गत आर्थिक वर्षमा उत्साहजनक आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा अहिलेसम्मकै सबैभन्दा धेरै विद्युतीय सवारी भित्रिएका हुन् ।

सरकारले प्रत्येक वर्षको बजेटमार्फत विद्युतीय सवारीमा लाग्ने कर, भन्सार शुल्क र अन्तःशुल्क परिवर्तन गर्दै आइरहेको छ । यसका बाबजुद निजी कम्पनीहरुले आफ्नो पहलमा नेपालमा विद्युतीय सवारीको आयात र बिक्रीवितरण उल्लेख्य रुपमा गरिरहेका छन् । भन्सार तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा नेपालमा ४ हजार ५० वटा विद्युतीय सवारी भित्रिएका छन् जुन, अहिलेसम्मकै धेरै हो ।

अघिल्लो आर्थिक वर्ष २०७८र७९ मा नेपालमा जम्मा १८ सय ७ वटा विद्युतीय सवारी भित्रिएका थिए । नेपालमा ५० किलोवाटदेखि ३०० किलोवाटभन्दा माथि क्षमताका सवारी साधन आयात हुँदै आइरहेका छन् । यसमध्ये ५० किलोवाटदेखि १०० किलोवाटसम्मका सवारी साधन सबैभन्दा धेरै आउने गरेका छन् । यसपछि १०० देखि २०० किलोवाट क्षमताका सवारी धेरै आउने गरेका छन् ।

२०० किलोवाटदेखि माथिका विद्युतीय सवारी भने न्यून रुपमा आयात हुँदै आइरहेका छन् । विभागको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा २२ सय ४३ वटा बढी विद्युतीय सवारी साधन भित्रिएका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै हो ।