TRENDING

स्थानीय तहको सञ्चित कोषको रकम गणना गर्न नपाउँदा बैंकको निक्षेप १ खर्ब घट्यो

काठमाडौं । बैंकहरुले निक्षेप गणना गर्दै आएको स्थानीय तहको सञ्चित कोषको रकम नेपाल राष्ट्र बैंकले तानेको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य स्रोतको चरम अभाव हुँदा नेपाल सरकार अर्थ मन्त्रालयको निर्देशनअनुसार राष्ट्र बैंकले स्थानीय तहको सञ्चित कोषको ८० प्रतिशत निक्षेपको रुपमा गणना गर्दै आएको थियो ।

५० प्रतिशत रकम बैंकहरुले निक्षेपको रुपमा गणना गर्दै आएकोमा अर्थ मन्त्रालयको पत्राचारपछि आर्थिक वर्ष २०७८र७९ देखि अर्थ मन्त्रालयको पत्रको आधारमा राष्ट्र बैंकले ८० प्रतिशतसम्म त्यस्तो रकमलाई बैंकहरुले निक्षेपको रुपमा गणना गर्दै आएका थिए ।

असार मसान्तसम्म बैंकहरुले उक्त रकम निक्षेपको रुपमा गणना गर्नसक्ने भएपनि १ साउनदेखि के हुने भन्ने विषयमा अर्थ मन्त्रालयले कुनै निर्णय गरेको छैन । सोही आधारमा राष्ट्र बैंकले बैंकहरुमा निक्षेपको रुपमा रहेको स्थानीय तहको सञ्चित कोषको सबै रकम खिचेको हो ।

गत आर्थिक वर्षमा संघीय सरकारको सञ्चित घाटा चुलिएको अवस्थामा स्थानीय तहको सञ्चित कोषमा रहेको रकम बैंकहरुले निक्षेपको रुपमा प्रयोग गर्दै आएका थिए ।