TRENDING

डेढ अर्ब हिनामिना आरोपमा इमेज सहकारीका अध्यक्षविरुद्ध १५सय ४३ जनाको मुद्दा

बागलुङ । १ अर्ब ५४ करोड रुपैयाँ हिनामिना आरोप लागेका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीविरुद्ध १ हजार ५ सय ४३ जनाले जिल्ला अदालत बागलुङमा ठगी मुद्दा दिएका छन् ।

सहकारी पीडितले सरकारी वकिलको कार्यालयमार्फत उक्त मुद्दा दर्ता गरेका हुन् । मुद्दा दर्ताका बेला पीडितले बुझाएका फाइल र प्रहरीले बरामद गरेको जिन्सी सामान बुझ्न कर्मचारीलाई भ्याइनभ्याइ भएको छ । बचतकर्ताको १ अर्ब ५४ करोड रुपैयाँ हिनामिनापछि भागेका नेपाली दुई महिना पुग्न लाग्दा पनि सम्पर्कमा नआएको, प्रहरीले पनि अहिलेसम्म पक्राउ गर्न नसकेपछि पीडितहरू सहकारी ठगी मुद्दा लिएर अदालत पुगेका हुन् ।

‘यो मुद्दापछि पक्राउ पुर्जी जारी हुने आस गरेका छौं,’ पीडितमध्येका डिलबहादुर कार्कीले भने, ‘जहाँ भए पनि खोजेर ल्याउने र जायजेथा बेचेर भए पनि हामीहरूको पैसा फिर्ता गरिनुपर्छ ।’ पीडितले यस अघि प्रहरीमा जाहेरी पनि दिएका थिए ।