TRENDING

किन बढ्दैछ युवामा ढाड दुख्ने समस्या

काम गर्न बस्नै हुँदैन, ढाड दुख्ने समस्याले सताउँछ । एकछिन उभिन सक्दिन ढाड दुख्न थाल्छ । बसेर काम गर्ने जागिर छ । तर ढाड दुखेर खप्न सक्दिनँ, कहिलेकाहीं त पेनकिलर नै खाने गर्छु ।’

यस्ता समस्या लिएर धेरै युवायुवती अस्पताल आउने गरेका छन् । पहिला ढाड दुख्ने समस्या लिएर वृद्ध उमेरका व्यक्ति धेरै अस्पताल पुग्थे । यो समस्या उमेर पुगेकाहरुमा हड्डी कमजोर भएर देखिने रोग मानिन्थ्यो । तर अहिले युवाहरुमै योे समस्या छ ।

कारण

ढाड दुख्ने समस्याको प्रमुख कारण आधुनिक खानपान र व्यस्त जीवनशैली हो । संसारभर आफ्नो पेशा नै परिवर्तन गर्न बाध्य बनाउने समस्या ढाड दुखाइ हो । भागदौड, हड्डी बलियो बनाउने आहार कम, कमजोर बनाउने खाने कुरामा जोड दिनुपर्छ । एउटै पोस्चरमा लामो समय बसेर काम गर्ने बानीले २५ वर्षको उमेरदेखि ५० वर्षको उमेर समूहमा ढाड दुख्ने समस्याले सताइरहेको देखिन्छ ।

लामो समयसम्म बसिरहने काम गर्नेहरु जो लगातार एकै पोस्चरमा बस्दा ढाड दुख्ने गर्छ । फलस्वरूप हड्डी, नसा कमजोर हुँदै जान्छन् । नसा च्यापिने समस्या पनि देखिन्छ । अहिले मानिसहरु टन्न खानपान गर्ने तर सकेसम्म कसरत नहुने काम गर्न रुचाउने हुँदा उनीहरु सक्रिय हुँदैनन् । जब सक्रिय हुँदैनन् तब ढाड दुख्ने, कम्मर दुख्ने र हातखुट्टा नै दुख्ने समस्याले सताउने गर्छ । त्यसैले शरीरलाई चलायमान राख्न जरुरी छ ।

ढाड दुख्ने अर्को कारण धुम्रपान हो । धुम्रपानमा हुने निकोटिनले हड्डीलाई कमजोर बनाउँदै लैजान्छ । चुरोटको धुँवामा जुन हानिकारक रसायन हुन्छ, त्यसले हड्डीलाई कमजोर बनाउँछ । चुरोटको लत लागेकाहरुको हड्डी भाँचिएमा जोडिन कठिन हुन्छ । सबैभन्दा बढी ढाड दुख्ने समस्या अत्यधिक चुरोट पिउनुलाई जिम्मवार मानिन्छ । त्यसैले युवा उमेरदेखि नै उनीहरुमा ढाड दुख्ने समस्या हुन्छ । त्यसबाहेक वजन बढ्ने, मिर्गौलासम्बन्धी समस्या, मेरुदण्डको क्यान्सर, सुत्दा नमिलेर वा सुतेर पढ्दा पनि ढाड दुख्ने समस्या हुन्छ ।

उपचार

– एक(दुई दिन मात्र ढाड दुख्ने समस्या भए त्यसलाई सामान्य मानिन्छ । तर दैनिकी नै प्रभाव पार्ने खालको दुखाइ छ भने चिकित्सकलाई जाँच गराउनुपर्छ ।

– एक्सरे, सिटी स्क्यान वा एमआरआई गरेर पनि ढाड दुख्नुको मुख्य कारण जस्तै मेरुदण्डको समस्या, मेरुदण्डको क्यान्सर, नसा च्यापिएको, लिगामेन्ट मांसपेशीको समस्या, डिस्कको समस्या, स्कोलियोसिस, कम्प्रेसन फ्याक्चर ९जुन बुढेसकालमा महिलामा बढी हुन्छ० पत्ता लगाउन सकिन्छ ।

– दुखाइ सहन सक्ने किसिमको छ भने फिजियोथेरापीद्वारा ढाड दुख्ने समस्या कम गर्न सकिन्छ । खुट्टा झमझमाउने, दिसापिसाब नियन्त्रण भएन भने अस्पताल पुग्नुपर्छ ।

– दुखाइ सामान्य किसिमको छ भने सामान्य पेनकिलर सेवन गरेर तथा फिजियोथेरापी गरेर पनि तीन महिनामा निको पार्न सकिन्छ । तर दुखाइ गम्भीर भएमा यो समस्या लामो समय रहिरहन्छ ।

– नियमित व्यायाम गर्ने, लगातार एकै स्थानमा बसेर काम नगर्ने, गर्ने परेमा केहीछिन विश्राम लिंदै बिस्तारै हिंड्ने, उठ्ने र पुनः आएर काम गर्ने, मदिरा तथा धुम्रपान सेवन नगर्ने, भारी सामान नउचाल्ने, क्याल्सियमयुक्त खानेकुरा खाने गर्दा ढाड दुख्ने समस्याबाट जोगिन सकिन्छ ।