TRENDING

स्वदेशमा सिस्नोको व्यापार, विदेशमा कोसेली

काठमाडौँ । खेतबारी, खोलानाला तथा जंगलमा सहजै पाइने सिस्नो विदेश निर्यात हुन थालेको छ । स–साना व्यवसायीले सिस्नोलाई धूलोरपिठोका रूपमा कोसेली बनाएर निर्यात गर्न थालेका हुन् । व्यावसायिक रूपमा भने सिस्नो निर्यात गर्न सकिएको छैन ।
देशका विभिन्न पालिकाले समेत सिस्नोलाई संरक्षण र व्यावसायिक बनाउन सहयोग गर्न थालेका छन् । तरकारीका रूपमा प्रयोग हुँदै आएको सिस्नोको बजारीकरणमा बागलुङको जैमिनी नगरपालिकाले सघाएको छ ।

नगरपालिकाले सिस्नोको धूलो बनाउने आधारभूत तालिम र मेसिनसमेत सहयोग गरेपछि त्यहाँका महिला उद्यमीले काम सुरु गरेका छन् । चालु वर्ष मात्रै दुई हजार किलो सिस्नो पाउडर तयार गर्दासमेत माग धान्नै मुस्किल भएको गाजादह सिस्नो पाउडर उत्पादन समितिकी अध्यक्ष तारादेवी पुनले जनाइन् ।

‘छुँदा पोल्ने हुँदा खेतबारी र घरको छेउछाउ उम्रेको सिस्नोलाई पहिले आगो लगाउँथे,’ उनले भनिन्, ‘अहिले त्यही सिस्नोलाई जगेर्ना गर्न थालिएको छ । यसले रोजगारी पनि बढाएको छ ।’ आफैं उम्रिएका सिस्नोले नपुग्ने हुँदा अब बाँझो जग्गामा सिस्नो लगाउने योजना रहेको उनले सुनाइन् । अहिले देश–विदेशबाट सिस्नोको धूलोको माग बढ्दै गएको उनको भनाइ छ ।

चितवन, काठमाडौं, पोखरादेखि हङकङ, लन्डनलगायत देशमा पनि सिस्नो पुगिसकेको उनले जानकारी दिइन् । खेर गइरहेको सिस्नोले स्थानीय महिलालाई स्वरोजगारसमेत बनाएको छ । सिस्नोले स्वास्थ्यलाई समेत प्रत्यक्ष फाइदा पुग्ने हुँदा माग बढ्दै गएको छ । प्रतिकिलो ६ सय ५० देखि २ हजार रुपैयाँसम्म सिस्नोको धूलो बिक्री भइरहेको उनले सुनाइन् ।