TRENDING

के कारणले पोल्छ पैताला

कहिलेकाहीं खुट्टाको पैताला दुखेको तपाईंले पनि महसुस गर्नुभएकै होला । लामो यात्रा गर्दा, असहज जुत्ता लगाउँदा कहिलेकाहीं दुख्नु सामान्य हो, यस्तो केही दिनमा निको हुन्छ । तर बारम्बार पैताला पोलिरहनु गम्भीर रोगको संकेत पनि हुन सक्छ । आफ्ना दैनिक क्रियाकलापमै असर गर्ने गरी पैताला पोलिरहेको छ भने त्यसलाई बेवास्ता गर्नुहुँदैन ।

के कस्तो स्वास्थ्य समस्याले पैताला पोल्छ त

हाइपोथाइराइडिज्म

थाइराइड उच्च होस् वा कम होस्, दुवै अवस्था शरीरको लागि उपयुक्त हुँदैन । कम थाइराइड अर्थात् हाइपोथायरायडिज्म अवस्थाले पनि खुट्टा पोल्न सक्छ। यो एक अवस्था हो, जसमा थाइरोइड ग्रन्थीद्वारा हार्मोन उत्पादन कम हुन्छ । जसको प्रभाव खुट्टाको नसामा पनि पर्ने हुँदा पोल्ने गर्छ ।
भिटामिनको कमी

भिटामिन बीको कमीले पैताला पोलेको महसुस हुन सक्छ । भिटामिन बी १२, भिटामिन बी ६ र भिटामिन ९ को कमीले पैताला पोल्ने र मांसपेशी दुख्ने कारण बनाउँछ । भिटामिन बीको कमीले हुने रोगको संकेतको रुपमा पनि लिइन्छ, जसलाई बर्निङ फिट सिन्ड्रोम भनिन्छ । यस्तो अवस्थामा चिकित्सकलाई देखाएर भिटामिन बीको मात्रा बढाउने र थप उपचार गराउनुपर्छ ।

उच्चरक्त चाप

सुतेको समयमा खुट्टा पोल्ने समस्या उच्चरक्त चाप बढी हुँदा हुन सक्छ । खुट्टामा रक्तसञ्चारको कमी हुँदै हात र खुट्टामा तापमान बढेर पोल्न सक्छ । खुट्टामा जाने नसाहरु लामो हुन्छन् । जसले कुनै पनि गम्भीर रोगको प्रभाव खुट्टा हुँदै हाततर्फ पनि बिस्तारै पर्न सक्छ ।

मिर्गौला फेल हुनुको संकेत प्रत्यक्ष खुट्टा नै पोल्छ भन्ने हुँदैन । तर मिर्गौला फेलको सुरुवाती चरणमा भने पैताला पोलेको अनुभव हुन सक्छ । मिर्गौला खराब हुन थालेपछि शरीरले प्रभावकारी ढंगबाट छान्न सक्दैन जुन पछि न्युरोप्याथीको कारण बन्न सक्छ, जसले पैताला पोल्छ ।

नसा सुन्निनु

नसा सुन्निने धेरै कारणले हुन सक्छ। कलेजो, मिर्गौला र मोटोपनसम्बन्धी रोगका कारण खुट्टामा दबाब सिर्जना हुन्छ, जसकारण पैताला पोलेको महसुस हुन्छ ।

मधुमेह न्युरोप्याथी

मधुमेह न्युरोप्याथीको समस्याबाट पीडित व्यक्तिमा पैताला पोलिरहन्छ । अनियन्त्रित उच्च मधुमेहले बिस्तारै रक्तनलीहरू र स्नायुहरूलाई क्षति पुर्‍याउन थाल्छ । यस्तो अवस्थामा स्नायुबाट संकेतको प्रसारणलाई पनि कम गर्ने, रक्तनलीका भित्तालाई पनि कमजोर बनाउँछ र खुट्टा पोल्नुका साथै अन्य धेरै समस्या हुन सक्छन् ।

यसबाहेक किमोथेरापीको औषधि लिएका, खुट्टामा संक्रमण हुनु, अत्यधिक मदिरा पिउने बानी, वंशाणुगत कारण, ढाडमा नसा च्यापिंदा पनि खुट्टामा हुने नसालाई प्रभाव पार्छ जसले गर्दा पैताला पोल्ने गर्छ । त्यस्तै उमेर बढ्दै गएपछि वृद्धहरुमा पनि नसा खुम्चिएर पैताला दुख्ने गर्छ ।

के पैताला राति मात्रै पोल्छ

अधिकांशले राति मात्र पैताला पोल्ने गुनासो गर्छन् तर त्यसमा कुनै ठोस कारण छैन । रातको समयमा काम कम र आराम बढी हुने भएकाले ध्यान दुखाइतर्फ मात्र केन्दित हुँदा बढी दुखेको महसुस हुन्छ । यद्यपि कति दुख्छ र कति लामो समयसम्म दुखाइ हुन्छ भन्ने कुरा रोगअनुसार फरक फरक हुन सक्छ ।

उपचार

लगातार पैताला दुखेर दैनिकीमा नै असर पारेको छ भने तुरुन्त अस्पताल गएर जँचाउनुपर्छ । नत्र जति ढिला अस्पताल पुग्यो उपचारमा त्यति नै जटिलता आउँछ । धेरै रोगको लक्षणको रुपमा पैताला पोल्ने देखिने हुँदा थाइरायड, मधुमेहको स्तर हेर्न रगत परीक्षण गरिन्छ । त्यस्तै ढाडको समस्या भए एमआरआई गरिन्छ । र, नसामा समस्या छ कि छैन भनेर हेर्न नसाको परीक्षण गरिन्छ ।

पैताला पोल्ने समस्याको लक्षण रोगअनुसार हुने भएकाले रोगलाई निदान गरी त्यसको उपचार गर्दा स्वतस् दुख्ने समस्या कम हुँदै जान्छ । यदि परीक्षणमा थाइरायड मधुमेह अनियन्त्रित देखिए त्यसलाई नियन्त्रण गरिन्छ ।

घरमै गर्न सकिने रोकथाम

अत्यधिक खुट्टा दुखिरहेको छ तर अस्पताल पुग्न सम्भव छैन भने चिसो पानीले केहीबेर खुट्टा डुबाउन सकिन्छ । त्यसैगरी आफू बसेको स्थानभन्दा केही माथि खुट्टा उठाएर राख्दा केही हदसम्म सञ्चो हुन सक्छ । दुखाइ कम गर्ने मलम पनि लगाउन सकिन्छ ।