TRENDING

नेपालमा फस्टाइरहेको मानिस बेच्ने धन्दा

काठमाडौ । नेपालमा सामाजिक संरचना परिवर्तनको हिसाबले पछिल्ला २०० वर्ष अभूतपूर्व रहे । समाजमा समुदायको पकड कमजोर हुँदै विस्तारै राज्य र त्यसपछि खुला बजारले नियन्त्रण जमाउँदै गयो । अहिले हरेक व्यक्ति, समुदाय, समाज र राज्यले चाहेर वा नचाहेर, थाहा पाएर वा नपाएर तीव्र गतिमा परिवर्तन हुँदै गरेको विश्व बजारको गतिमा आफ्नो लय मिलाउने यत्न गरिरहेका छन् । कसैलाई मन पर्ला, कसैलाई मन नपर्ला, कसैले रात–दिन पूँजीवादलाई सत्तोसराप गरेर बिताउलान्, तर प्रत्येक व्यक्तिको जीवनशैली भने निर्विकल्प यसैमा अभ्यस्त बन्दै गइरहेको कुरा कटुसत्य हो ।

यस आलेखमा विश्व अर्थ व्यवस्थामा निर्विकल्प समाहित हुँदै गर्दा मूलधारमा आउन नसकेर नेपाल पछौटे भई लतारिनु पर्नाका कारणबारे चर्चा गरिएको छ । अर्थात् यसमा कुनै समय आफ्ना उत्पादन निर्यात गर्ने नेपाल आज नागरिकलाई कोरा श्रमिकका रूपमा निर्यात गरेर उपभोगका सामान जुटाउने हैसियतमा पुग्नुका कारण, प्रतिस्पर्धामा आधारित खुला बजार व्यवस्थामा पूर्ण भरोसा गरेर अगाडि नबढ्दा पूँजी विकासको गतिमा अधकल्चो हुनुको कारणबारे चर्चा गर्ने प्रयास गरिएको छ ।
उन्नाइसौं शताब्दी नेपालीको जीविकोपार्जनका तौरतरिका परिवर्तनको हिसाबले धेरै महत्वपूर्ण सुरुवाती क्षण बन्न पुग्यो । घुमन्ते जीवन शैलीबाट स्थायी खेतीपातीको युगमा प्रवेश गरेपछिका केही हजार वर्ष पारिवारिक उत्पादनको माध्यमबाट गुजारा गरिरहेका र समुदायको सामूहिक निर्णयमा संचालन हुने जीवनशैली र जीविकोपार्जनका तरिका पछिल्ला शतकमा परिवर्तन हुन थाले । युरोपमा पन्ध्रौं शताब्दीतिर जीविकोपार्जनको तौरतरिका परिवर्तन हुन थालेको थियो । तर नेपालमा भने महसुस हुने गरी यसको प्रभाव १९औं शताब्दीबाट सुरु भएको देखिन्छ ।

यस शताब्दीमा विशेषगरी बसाइँसराइ र वस्तुको विनिमय गर्ने तरिकामा दीर्घकालीन प्रभाव पार्ने गरी परिवर्तनको सुरुवात भयो । पछि जीविकाका महत्वपूर्ण पाटाहरूमा क्रमशः बदलाव आएको देखिन्छ । जीविकोपार्जनका तौरतरिकामा नजानिंदो तरिकाले क्रान्तिकारी बदलाव ल्याउने यो प्रवृत्ति र प्रणाली हाम्रो समाजभित्रबाटै विकास भएको भने पक्कै होइन, बाह्य प्रभावको विकास हो ।

मानवको विकास भएदेखि नै खाद्यान्न तथा सुरक्षित वासस्थानको खोजी गर्दै एक ठाउँबाट अर्को ठाउँमा बसाइँसराइ गर्ने क्रम निरन्तर रह्यो । स्थायी हिसाबले खेतीपातीमा आउनुपूर्व समूहमा बसाइँसराइ हुनेगर्थ्यो र यस्तो यात्रा धेरै लामो दूरीसम्म हुन्थ्यो । यही भएर मानव अफ्रिकाबाट एसिया, युरोप हुँदै अमेरिकी महादेशसम्म पुगेको देखिन्छ ।

तर, घुमन्ते जीवनबाट स्थायी रूपको खेतीपातीमा प्रवेश गरेपछि थातथलो छाडेर हिंड्ने तौरतरिका र आवृत्तिमा भने फरक आयो । खेतीपातीको युगमा प्रवेश गरेर जीविकोपार्जनका लागि पूर्णतः पारिवारिक उत्पादनमा निर्भर हुने अवस्था रहँदासम्म अवसरका लागि स्थानान्तरण हुने प्रवृत्तिमा घुमन्ते युगको भन्दा फरक आयो । स्थानान्तरण पहिले जस्तो छिटो नभएर सुस्त हुनुका साथै अवसरका लागि थातथलो छोड्ने प्रवृत्ति पहिले जस्तो समुदायस्तरमा नभएर पारिवारिकस्तरमा हुन थाल्यो ।

हजारौं वर्षको निरन्तर अभ्यासबाट परिष्कृत हुँदै आएको पारिवारिक उत्पादनमा परिवारका सदस्यको लैङ्गिकता, उमेर तथा जातीय हिसाबले समेत कार्य विभाजन हुन्थ्यो । त्यसकारण अठारौं शताब्दीसम्म परिवारका कुनै सदस्यको मात्र बसाइँसराइ सामान्यतः अभ्यासमा आउँदैनथ्यो । अहिले जस्तो परिवारका कुनै सदस्य परिवार छाडेर टाढा जाने र कमाइ गरेर बचाएको पैसा परिवारको भरणपोषणका लागि पठाउने चलन थिएन । उत्पादन र उपभोगको तौरतरिका नै पारिवारिक र गुजारामुखी थियो ।

नागरिकलाई ज्यालाका लागि निर्यात गरेर कमिसन लिने धन्दाले विभिन्न स्वरूप धारण गर्दै आज सबभन्दा बढी फस्टाएको संगठित धन्दा बनेको छ ।
आफ्नो समुदायको सामुदायिक प्रयोजन र शासकलाई आक्कलझुक्कल तिर्ने तिरो बाहेक उत्पादन भनेको परिवारको खाद्य तथा अन्य गुजाराका सामग्री विनिमयका लागि मात्र गरिन्थ्यो । उत्पादन न नगद आर्जनका लागि हुन्थ्यो, न रोजगारी नगदमा मिल्थ्यो । यसैले बसाइँसराइ भयो भने सिंगो परिवार नै सँगै जान्थ्यो ।

उन्नाइसौं शताब्दीमा भने जीविकोपार्जनको तरिका फेरिन थाल्यो । विनिमयमा पैसाको बढ्दो प्रयोग यसको कारण थियो । यसका साथै, परिवारको आवश्यकता पूरा गर्न आयआर्जनका लागि परिवारको कुनै सदस्य विशेषगरी युवा र वयस्क पुरुषको ठूलो संख्यामा स्थानान्तरण हुन थाल्यो ।

अंग्रेजहरूले सन् १६०१ तिर भारतीय उपमहाद्वीपमा व्यापार मित्रताका नाममा इष्ट इण्डिया कम्पनी खडा गरे र पछि व्यापार हुँदै शासन सुरु गरे । तर नेपालमा अंग्रेजको खास प्रभावचाहिं उन्नाइसौं शताब्दीको सुरुतिर अर्थात् नेपालसँगको युद्ध अनि सुगौली सन्धिपछि देखिन थालेको हो । सुगौली सन्धिको एक शर्त अनुसार अंग्रेजहरूले तत्कालीन सरकारलाई कमिसन बुझाउँदै नेपाली युवालाई सेनाका रूपमा रोजगारी दिएर युद्धमा लगाए ।

यो एक किसिमले राज्यले नागरिकलाई संस्थागत रूपमा बेच्ने अभ्यासको थालनी थियो । यसरी सुरु भएको नागरिकलाई ज्यालाका लागि निर्यात गरेर कमिसन लिने धन्दाले विभिन्न स्वरूप धारण गर्दै आज सबभन्दा बढी फस्टाएको संगठित धन्दा बनेको छ । प्रचलित भाषामा म्यानपावर व्यवसाय भनिए पनि व्यवसायको सिद्धान्त लागू नहुने हुनाले यस लेखमा ‘धन्दा’ शब्द प्रयोग गरिएको छ ।

अंग्रेजका एजेन्टहरूले ग्रामीण तहसम्म पुगेर युवालाई सेनामा भर्ती गर्न उत्प्रेरित गर्ने, युवाको छनोट गर्दै भर्ती केन्द्रसम्म पुर्‍याएर छनोट तथा निर्यातको एउटा स्थायी संयन्त्र बनाए । सेनामा जानेहरूले भित्र्याउने रकमले जीविकोपार्जनमा पैसाको महत्व बढाउन थाल्यो । वस्तु तथा सेवाको विनिमय परम्परागत साटफेरको सट्टा नगदमा हुन थाल्यो । त्योभन्दा पहिला राज्यले सेना र कर्मचारीलाई ज्याला दिंदा समेत जग्गा वा अन्य जिन्सीमा दिने चलन थियो ।

परिवारबाट छुट्टिएर परिवारको सदस्य रोजगारीमा जाने परम्परा सुरु भएपछि अंग्रेज सेनामा रोजगारी गर्न जानेमा मात्र सीमित भएन । नेपाली नागरिकहरू भारतीय बजारमा विभिन्न खाले ज्यालादारी काम गर्न जाने दर बढ्यो र समयक्रमसँगै नेपाली पुरुषहरू जीवनको कुनै कालखण्डमा धेरै–थोरै समय रोजगारीका लागि भारतीय बजारमा प्रवेश गर्ने अनौपचारिक सामाजिक नियम जस्तै बन्यो ।

बीसौं शताब्दीको अन्तिम दशकतिर रोजगारीमा जाने दर र गन्तव्य परिवर्तन हुन थालेको देखिन्छ । सुरुवाती वर्षहरूमा गन्तव्य खाडी वा मलेसिया भए पनि एक्काइसौं शताब्दीको तेस्रो दशकसम्म आइपुग्दा गन्तव्य अमेरिका, युरोप, अस्ट्रेलिया, जापान वा कोरिया हुन थालेको छ । गन्तव्य फरक भएसँगै जाने तरिका पनि फरक हुन थालेका छन् । पहिले कमाइ गर्न जाँदा धन्दावाला जरूरी थिएन । रोजगारदाता आफैं आएर लैजान्थ्यो या धन्दावालाको संलग्नता विना रोजगार खोज्ने मानिस आफैं रोजगारदाताकोमा पुग्थ्यो । पछि भारतबाहेक अन्य देशमा जानका लागि मध्यस्थ वा धन्दावालाको संलग्नता हुन थालेको हो ।

अहिले सबभन्दा फस्टाएको संगठित व्यवसाय भनेको मानव निर्यात नै हो । यसो हुनुको कारण यस धन्दामा लगानी जरूरी छैन । उल्टै रोजगार खोज्ने मानिस घरजग्गा बेचेर भए पनि नगद बोकेर आफैं आइपुग्छ । लगानी नै नभएपछि डुब्ने डर पनि भएन । विना जोखिम सम्पत्ति कमाउन पाएपछि जोखिम हुने उद्योग–धन्दा गरेर कमाउनतिर लाग्ने कुरा पनि भएन ।अनलाइन खबरबाट साभार