TRENDING

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित जहाज नआउँदा पर्यटन व्यवसायी चिन्तित

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको निर्माण सम्पन्न भएता पनि व्यावसायिक उडानहरू नहुँदा पर्यटन व्यवसायी चिन्तामा रहेका छन् । विमानस्थल निर्माण कार्य सम्पन्न भइसकेपछि नियमित उडानका जहाज नआउँदा ठूलो लगानी गरेर बसेका व्यवसायी चिन्तामा परेका हुन् ।

विमानस्थल निर्माणका लागि राज्यको मोटो रकम खर्च भएको छ । तिन किलोमिटर लामो धावन मार्ग रहेको उक्त विमानस्थलमा अहिले चार्टर फ्लाइट बाहेक अन्य उडान हुन सकेको छैन । २०७९ जेठ २ गतेदेखि नियमित उडान गर्नको लागि विमानस्थल उद्घाटन भए पनि अहिले जजिरा एयरलाइन्स र हिमालय एयरलाइन्सले मात्रै उडान गरेका छन् । यी चार्टर उडान गरेका विमानबाट पर्यटकको आवागमन भने निकै नै कम छ । विदेश जाने र विदेशबाट फर्कनेहरूको लर्को यी जहाजबाट भइरहेको छ ।

विमानस्थल निर्माण पश्चात भैरहवा लुम्बिनी आसपासमा होटेल क्षेत्रमा ठूलो लगानी छ । होटेलका भवनहरू निर्माण भए । तर, बैंकको चर्को ब्याजदर र अहिले लगानी नै रोकेको अवस्थाले गर्दा होटेल व्यवसाय संकटमा परेको सिद्धार्थ होटेल एसोसिएसनको कोषाध्यक्ष भोज खत्री बताउँछन् ।

गौतमबुद्ध विमानस्थलमा अहिले भएका चार्ट फ्लाइटहरू खाडी मुलुक केन्द्रित भएको र नेपालमा भारत र चीनबाट पर्यटक ल्याउने गरी उडान भएमा मात्रै पर्यटन व्यवसाय फैलाउन सक्ने सोट्टो नेपाल लुम्बिनी प्रदेश अध्यक्ष सञ्जय बजिमयले बताए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारी निर्माण कार्य सम्बन्धी दिएको जानकारी अनुसार विमानस्थल निर्माणको लागि आइसिपी १ को लागि ६ अर्ब ६३ करोड, आइसिपी २ को लागि ५० करोड, काग्रो निमार्णको लागि ८५ करोड सडक निर्माणमा ६० करोड, अन्य खर्च २० करोड र मुआब्जा वितरण २३ अर्ब ५९ करोड खर्च भएको छ । वैकल्पिक विमानस्थल भएकोले विमानस्थलको काम सकिए पनि पार्किङ एरिया सानो हुने भएकोले अझ बढाउनु पर्ने देखिन्छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख गोविन्द प्रसाद दाहालले नियमित उडान नभए पनि जजिरा एयरलाइन्स र हिमालय एयरलाइन्सले चार्टर उडान गर्दै आएको र निकट भविष्यमा दुबई र कतारका जहाज पनि यहाँ आउने तयारी रहेको बताए । उनले अहिले निःशुल्क जहाज अवतरण भइरहेको भइरहेकोले विमानस्थलमा आम्दानी नभएको बताउँदै एक सय जना कर्मचारी विमानस्थलमा कार्यरत रहेको बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले पर्यटकको आवागमन निकै कम छ । अहिले भएका उडानमा वैदेशिक रोजगारीमा जाने र आउनेलाई ओसारपसारको काम मात्रै भइरहेको छ । यसले गर्दा यहाँ पर्यटकीय क्रियाकलाप फस्टाउन सकेको छैन ।

पर्यटन उद्योगमा देखिएका चुनौतीहरूको सम्बोधन गर्नका लागि सरकार, निजी क्षेत्र तथा गैरसरकारी क्षेत्रसमेतको संयुक्त लगानी, तत्परता र सोचमा परिवर्तनको आवश्यकता हुन्छ । यसो हुन सकेको खण्डमा नेपाल रहेका सम्पदाहरूको संवर्द्धन, संरक्षण र प्रवर्द्धन गरी पर्यटक आगमन, पर्यटक बसाइ र खर्चमा वृद्धि गराई रोजगारीका अवसरको गरी पर्यटन क्षेत्रको माध्यमद्वारा आर्थिक विकासमा सहयोग पुग्छ ।

तर, त्यसका लागि यहाँ छरिएर रहेका प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक सम्पदाहरूको संरक्षण र संवर्द्धनमा स्थानीय सरकार, समुदाय तथा निजी क्षेत्रसमेतको सहभागितामा चाहिन्छ । साथै पर्यटन क्षेत्रको विकास गरी प्राप्त प्रतिफललाई न्यायोचित तरिकाले वितरण गर्न संयन्त्र बनाएर कार्यान्वयन गरिनुपर्छ । यसका लागि नयाँ पर्यटकीय गन्तव्यको पहिचान तथा पूर्वाधारहरूको विकास गरी अगाडि बढाउनु त्यत्तिकै आवश्यक हुन्छ ।