TRENDING

डोटीमा गएको भूकम्पमा परि ६ जनाको मृत्यू, ५ जना घाइते

डोटी । डोटी केन्द्रविन्दु भएर गएराति ६.६ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घर भत्किएका छन् । घर भत्किँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ भने ५ जना घाइते भएका प्रहरीले जनाएको छ​ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टका अनुसार डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर छ जनाको मृत्यु भएको हो ।

मृत्यू हुनेहरुमा पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँका ५० वर्षीय प्रेम बोहरा‚ ४० वर्षीय भगवती बोहरा‚ १३ वर्षीया सीता बोहरा‚ ८ वर्षीय हर्क बोहरा‚ १४ वर्षीया धन्सरी बोहरा र १४ वर्षीया तुलछी बोहरा रहेको प्रहरीले जनाएको छ ।

भुकम्पमा परी घाइते भएका पाँच जनाको उपचार भैरहेको बताइएको छ । भूकम्पका कारण सायल गाउँपालिका क्षेत्रमा समेत ठाउँ ठाउँमा पहिरो गएको बताइएको छ । सो क्षेत्रमा पटक पटक भुकम्पको झट्का महसुस भएको र सो झड्का कैलाली र कञ्चनपुरमा समेत महसुस गरिएको बताइएको छ ।