TRENDING

कोरोना बीमाको पैसा बीमक संघको खातामा, छिट्टै भुक्तानी गर्ने अध्यक्षको भनाई

काठमाडौं । निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० हरुको छाता संगठन नेपाल बीमक संघले कोरोना बीमाको एक अर्ब रुपैयाँ पाएको छ । संघका अध्यक्ष चंकी क्षेत्रीले सरकारले निकासा गरेको एक अर्ब रुपैयाँ बीमा समितिबाट पाइसकेको बताएका हुन् ।

‘एक अर्ब रुपैयाँ आएको छ, त्यसलाई ५५ प्रतिशत मानेर बाँकी ४५ प्रतिशत बीमा समिति, नेपाल पुनर्बीमा कम्पनी र कम्पनीहरुले थपेपछि एक अर्ब ८१ करोड हुन्छ, यो मोडालिटी अनुसार अब छिट्टै भुक्तानी गर्नेछौं,’ अध्यक्ष क्षेत्रीले भने ।

सो मोडालिटी अनुसार बीमा कम्पनीहरुले २५ प्रतिशत रकम थप्नुपर्छ, नेपाल पुनर्बीमा कम्पनीले १२ प्रतिशत हाल्नुपर्छ, ८ प्रतिशत पैसा समितिले थप्नु पर्ने हुन्छ ।

‘यो मोडालिटी अनुसार अघि बढ्न नेपाल पुनर्बीमा कम्पनी र सबै कम्पनीहरुलाई औपचारिक रुपमा जानकारी गराउनु पर्ने हुन्छ, त्यसको लागि आगामी आइतबार बैठक बस्दै छौं,’ सगरमाथा इन्स्योरेन्स कम्पनीको सीईओ समेत रहेका क्षेत्रीले भने ।

भुक्तानीमा कसरी अघि बढ्ने भन्ने विषयमा पनि मन्त्रालयस्तरबाटै मोडालिटी तय भएर आइसकेको उनले बताए । उनका अनुसार निजामती कर्मचारी र संघ संस्थाबाहेक व्यक्तिगत बीमितलाई पहिलो प्राथमिकता दिइने छ । त्यसमा पनि फर्ष्ट कम फर्ष्ट सर्भिसको आधारमा अघि बढिने क्षेत्रीको भनाई छ ।

साथै, उनले ढिलाई भएको कोरोना बीमाको भुक्तानीलाई अब भने जतिसक्दो चाडो सल्टाउने बताए । यसको लागि बीमा समिति र कम्पनीहरु तयार रहेको समेत उनले जानकारी गराए ।