TRENDING

खुल्यो सुर्खेतदेखि कालिकोटसम्मको राजमार्ग

दैलेख । अविरल वर्षाका कारण पहिरोसँगै ठूलो ढुङ्गा खसी पूर्णरूपमा बन्द भएको कर्णाली राजमार्गअन्तर्गत सुर्खेतदेखि कालिकोटसम्म सडक खुलेको छ । बिचमा पर्ने दैलेख खण्ड छ दिनदेखि बन्द थियो ।

राजमार्ग खुलेसँगै सुर्खेतदेखि कालिकोटसम्म आजदेखि सवारीसाधन चल्न थालेका छन् । बुधबार राति नेपाली सेनाले राजमार्गअन्तर्गत दैलेख खण्डको आठविस नगरपालिकाको खिड्कीज्यूलामा विस्फोटक पदार्थ प्रयोग गरेर ठूलो ढुङ्गा फोडेसँगै कालिकोटसम्मको सडक खुलेको हो ।

दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसहित सुरक्षा अधिकारीहरूको उपस्थितिमा विस्फोटक पदार्थ प्रयोग गरी सडक सञ्चालनमा आएको हो । नेपाली सेनाले विस्फोटक पदार्थ प्रयोग गरी ठूलो ढुङ्गा फुटाएको दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद साहले बताए । ‘कालिकोटसम्म सवारीसाधन चल्न मिल्ने गरी सडक खुलेको छ’, प्रमुख साहले भने, “ठाउँठाउँमा पहिराले सडक बिग्रेकाले होसियारीपूर्वक सावरी चलाउनुपर्छ ।’ उनका अनुसार दैलेखका सिमानामा भएका अवरुद्ध बाटाहरु सबै खुलाइएको छ ।

कालिकोटदेखि जुम्ला जोड्ने सडक बाढीपहिराले कटान गरेसँगै अवरुद्ध भएको छ । बाढीपहिराले कालिकोट खण्डको एसमोड र सेरी घाटमा सडक अवरुद्ध भएको छ । तिला नदीले सडक कटान गरेकाले नयाँ सडक बनाउनुपर्ने हुन्छ । रासस