TRENDING

चुनाव प्रचारका लागि धमाधम भारतिय गाडि भित्र्याइँदै, नियामक निकाय मौन

रौतहट ।  निर्वाचन आचारसंहिता विपरीत रौतहटमा राजनीतिक दलहरूले चुनावी प्रचारका लागि भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गरिरहेका छन् । सहजै र सस्तोमा पनि पाइने भएकाले उम्मेदवारहरूले भारतीय गाडी प्रयोग गर्दै आएका हुन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रचारप्रसारका लागि अहिले उम्मेदवारहरूले धमाधम यस्ता गाडी भित्र्याउन थालेका छन् ।

भारतीय गाडी एकदिनको भन्सार तिरेर महिनौ दिनसम्म चलाइन्छ । पार्टीको झण्डा लगाएपछि सुरक्षाकर्मीले पनि जाँच गर्दैनन् । भारतीय नम्बरप्लेटका गाडीले नेपाल प्रवेश गर्दा दैनिक ५ सय रुपैयाँ राजस्व बुझाउनुपर्छ । मोटरसाइकलले १ सय ५० रुपैयाँ तिर्नुपर्छ । गौर भन्सार कार्यालयका अनुसार एक आर्थिक बर्षमा एउटा गाडीले ३० दिन मात्र भन्सार राजस्व बुझाउन पाउने प्रावधान छ । नेपाली नम्बरका जिपको दैनिक ५ देखि ७ हजार रुपैयाँ भाडा पर्छ । तर, भारतीय नम्बरका गाडी २–३ हजार रुपैयाँसम्ममा पाइन्छन् ।

गौर भन्सार कार्यालयका सूचना अधिकारी अभिजित सिंहले चुनावको बहानामा पारीबाट गाडी ल्याएर चलाउनेविरुद्ध स्थानीय प्रशासनले कडाइ गरे मात्र भन्सार राजस्व तिर्न आउने बताए । ‘जिल्लामा ५ सयको हाराहारीमा भारतीय सवारी सञ्चालनमा छन् । तर, १ सय जतिले मात्र दैनिक राजस्व तिर्छन्,’ उनले भने, ‘बाँकी त्यतिकै चलाउँछन् । प्रशासनले कडाइ गर्नुपर्छ ।’ जिल्लामा दलका नेता, कार्यकर्तादेखि मन्त्रीसम्मले भारतीय नम्बरप्लेटका सवारी प्रयोग गर्दै आएका छन् ।

उम्मेदवारी दर्ता गर्न जाने क्रममा कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपालगायत दलका नेताले भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गरेका थिए । तर नेताहरूले भने भारतीय गाडी प्रयोग नगरेको दाबी गरेका छन् । रौतहटको क्षेत्र नम्बर ४ मा एमालेका उम्मेदवार उद्धव रेग्मी आफूले भारतीय नम्बर प्लेटको सवारी प्रयोग नगर्ने बताए । कांग्रेसका देवप्रसाद तिमल्सिना पनि आचारसंहिताविपरीत हुने भएकाले भारतीय सवारी प्रयोग नगरेको दाबी गर्छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले भारतीय नम्बर प्लेटका सवारीसाधनलाई के गर्ने भन्ने जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय लिने बताए । ‘आचारसंहितामा के भनिएको छ, नियमले मिल्छ–मिल्दैन रु भन्सार राजस्व तिरेको छरछैन रु सबै हेर्छौं,’ उनले भने, ‘दलहरूले नियम मिचेका छन् भने सजग गराउँछौं । निर्वाचन आचारसंहिताविपरीत गतिविधि नगर्न अनुरोध गर्छौं ।’ सुरक्षा निकायले यसपटक पारिबाट नेपाल भित्रिने सवारीसाधनको निगरानी गर्ने जनाएको छ ।

भारतीय गाडी र चालकले चुनावको समयमा समस्या हुन सक्ने सुरक्षा अधिकारीहरूको भनाइ छ । दुई वर्षअघि पनि कोभिड–१९ को बहाना बनाई भन्सार छलेर निर्बाध भारतीय नम्बरप्लेटका सवारीसाधन चलाइएको थियो । अब चुनावको बहाना बनाएर चलाउन थालेको सुरक्षाकर्मी बताउँछन् । जिल्ला प्रहरी र जिल्ला ट्राफिकले गत वर्ष भारतीय गाडीको अभिलेख राखेको थियो । यसलाई निरन्तरता दिन लागेको जिल्ला ट्राफिक प्रमुख विमला कठायतले बताइन् । ‘भारतीय सवारीसाधनको भन्सार राजस्व छरछैन हेर्छौँ । त्यसपछि दलहरूले प्रयोग गर्न पाउँछ–पाउँदैनन् बुझेर कारबाही हुन्छ,’ उनले भनिन्, ‘भन्सार राजस्व नतिरेका सवारीसाधनलाई जरिवाना हुन्छ ।’