TRENDING

भदौ २६ गतेबाट दसैँको लागि नयाँ नोट वितरण गर्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकले भदौ २६ गतेबाट दसैँको लागि बजारमा नयाँ नोट वितरण गर्ने भएको छ । केन्द्रीय बैंकका सहायक प्रवक्ता नारायण पोखरेलले यसका लागि तयारी पूरा भएको बताए । दसैँमा साना दरका सुकिला र नयाँ नोटको माग उच्च हुने भएकाले यो समयमा केन्द्रीय बैंकले बढी नोट बजारमा पठाउने गरेको छ ।

दसैँमा नयाँ नोट दक्षिणास्वरूप दिनु संस्कृतिकै रूप लिइसकेको छ । त्यसैले मानिसहरू रातिदेखि नै राष्ट्र बैंकमा लाइन लागेर नयाँ नोट साट्ने गरेको विगतमा पनि देखिँदै आएको छ । विगतमा नयाँ नोट साट्नका लागि लाइन बस्नुपर्ने अवस्थालाई सुधार गर्दै राष्ट्र बैंकले यसपालि भने व्यवस्थित रूपमा नोट वितरण गर्ने तयारी गरेको उनले बताए ।

नयाँ नोट साट्न आउनेलाई प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्मका नयाँ नोट साट्न पाउने बैंकले जानकारी दिएको छ । सर्वसाधारणले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट बढीमा एक सेट साट्न पाउनेछन । राष्ट्र बैंकका क्षेत्रीय कार्यालय र नोट कोषबाट दसैँ लक्षित नोट वितरण गरिने जनाइएको छ । राष्ट्र बैंकको पहुँच नभएका स्थानमा सरकारी बैंकले नोट कोष सञ्चालन गर्छन । दसैँमा प्रयोग गरिने नयाँ नोट नखुम्च्याई प्रयोग गर्न, रङ नलगाउन, पानीमा नभिजाउन केन्द्रीय बैंकका सहायक प्रवक्ता पोखरेलले आग्रह गरे ।