TRENDING

भादगाउँले टोपी लगाएर लीलबहादुरले लिए भारतीय राष्ट्रपतिबाट पद्मश्री पुरस्कार

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्री भारतको प्रतिष्ठित पुरस्कार पद्मश्रीबाट सम्मानित भएका छन् ।

भारतीय राष्ट्रपति रामनाथ कोविन्दले उनलाई सो पुरस्कारबाट सम्मानित गरेका हुन् । सोमबार दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित एक विशेष समारोहका बीच कोविन्दले साहिन्यकार क्षेत्रीलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

साहित्य र शिक्षा क्षेत्रमा उनले पुर्याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको राष्ट्रपति कार्यालयले ट्वीटरमार्फत जानकारी दिएको छ । राष्ट्रपति कार्यालयले क्षेत्रीलाई नेपाली साहित्यको प्रसिद्ध लेखकको रुपमा चित्रित गर्दै उनी विभिन्न सामाजिक, शैक्षिक र सांस्कृति संघसंस्थामा सक्रिय रहेको उल्लेख गरेको छ । पुरस्कार ग्रहण गर्न क्षत्री भादगाउँले टोपीमा सजिएर राष्ट्रपति कार्यालय पुगेका थिए ।

क्षेत्रीको बसाइँ नामक उपन्यास निकै चर्चित छ । सो उपन्यास नेपालको विश्वविद्यालय तहमा पनि पढाइ हुने गरेको छ । यद्यपि उनी नेपाली नागरिक भने होइनन् । उनको जन्म विसं १९८९ मा भारतको गुहावटीमा भएको थियो । बसाइँ उपन्यास बाहेक उनका ब्रहमपुत्रको छेउ छाउ, अतृप्त, असममा नेपाली भाषाको साह्रोगाह्रो, दोबाटो, तीन दशक बीस अभिव्यक्तिलगायतका कृति प्रकाशित छन् ।