TRENDING

पाइपलाइन र भण्डारण गृह बनाइँदै

काठमाडौँ। दोस्रो चरणको पेट्रोलियम पाइपलाइन परियोजना र भण्डारण गृह निर्माण हुने भएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन आइओसी को संयुक्त लगानीमा पाइपलाइन र भण्डारण गृह निर्माण गर्न लागिएको हो ।

चितवनको लोथरमा एक लाख किलोलिटर र झापामा ४५ हजार किलोलिटर क्षमताको भण्डारण गृह निर्माण गर्न लागिएको हो । चितवनमा भण्डारण गृह निर्माण निगमको लगानीमा हुने छ । हाल निगमसँग एक हप्तालाई मात्र पुग्ने ६८ हजार किलोलिटर क्षमताको भण्डारण रहेको छ । डेढ लाख किलोलिटर क्षमताको दुई ठाउँमा भण्डारण गृह निर्माण गरिने भएको हो ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले दुई ठाउँमा भण्डारण गृह निर्माण भए एक महिनाको माग धान्ने गरी इन्धन भण्डारण पुग्ने जानकारी दिनुभयो । निगमको नौ अर्ब लागत चितवनको लोथरमा एक लाख किलोलिटर क्षमताको इन्धन भण्डारण गृह निर्माण गरिने उहाँले जानकारी दिनुभयो । आगामी पाँच वर्षमा निर्माण सकिने यो परियोजना सम्पन्न भएपछि इन्धन भण्डारण क्षमता बढ्ने उहाँको भनाइ छ ।

हालै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको क्रममा नेपाल र भारतबिच पेट्रोलियम पूर्वाधार निर्माणका चार परियोजना २६ अर्ब रुपियाँ लागतमा पाँच वर्षभित्र सम्पन्न गर्ने गरी समझदारी भएको छ ।

आइओसीले तीन वटा परियोजनामा १७ अर्ब खर्च गर्ने छ भने एउटा भण्डारण डिपोमा नेपालले नौ अर्ब रुपियाँ लगानी गर्नुपर्ने छ । आइओसीले भारतको सिलिगुडी–चारआली पेट्रोलियम पाइपलाइन, चारआलीमा इन्धन भण्डारण डिपो र अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन परियोजना निर्माण गर्ने भएको छ । चितवनको पेट्रोलियम भण्डारण डिपो भने निगमको लगानीमा बन्ने छ ।

निगम प्रवक्ता मनोज ठाकुरले दुई देशबिच पेट्रोलियम पाइपलाइन परियोजना निर्माण गर्ने गरी सम्झौता भएको निगम र आइओसीबिच व्यापार टु व्यापार सम्झौता भएपछि निर्माण कार्य अगाडि बढ्ने उहाँले जानकारी दिनुभयो । आइओसीको प्राविधिक र आर्थिक सहयोगमा पाइपलाइन परियोजना निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले तीन महिनालाई धान्न सकिने क्षमताको इन्धन भण्डारण गृह निर्माण गर्न लागेको हो । नेपाल आयल निगमसँग हाल इन्धनको भण्डारण क्षमता न्यून रहेकाले बजारमा आपूर्ति व्यवस्था सहज पार्न भण्डारण क्षमता वृद्धि गरिने बजेटमा उल्लेख गरेको छ ।