TRENDING

पशुपतिनाथ मन्दिर प्रवेश गराइयो नवनियुक्त भट्ट अडिगालाई

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले नवनियुक्त भट्ट वी यस विनय अडिगालाई आज विधिवत् रूपमा पशुपतिनाथको मूलमन्दिरमा प्रवेश गराएको छ । विधिवत् रूपमा पशुपतिनाथ मन्दिर प्रवेश गर्नुभएका भट्ट अडिगालाई मूल भट्ट गणेश भट्टले पाशुपत दीक्षा प्रदान गर्नुभएको कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयो ।

नवनियुक्त भट्टले आर्यघाटअघिको विष्णुपादुकामा बसी प्रायश्चित्त गोदान गरेर पशुपति क्षेत्रका विभिन्न देवीदेवताको विधिअनुसार दर्शन र परिक्रमा गरी मन्दिर प्रवेश गर्नुभएको हो । नवनियुक्त भट्ट अडिगाले भण्डारेश्वर–ताम्रेश्वर–खञ्जनेश्वर–कृष्णेश्वर–शङ्कराचार्य मठ–झम्केश्वर– पशुपतिस्थित चाँगुनारायण– आगमघर–रुद्रगारेश्वर– वासुकीनाथको मन्दिर हुँदै पशुपति मूलमन्दिरस्थित बुढानीलकण्ठ–आर्यघाट–भद्रेश्वर–चतुःषष्टि लिङ्गबाट मूलभट्ट निवास–कुमारीस्थान–कीर्तिमुख भैरव–उन्मत्तभैरव आदि देवीदेवताको दर्शन एवं पूजा आराधना गर्दै पशुपतिनाथ मूल मन्दिर प्रवेश गर्नुभएको हो । उहाँलाई मूलभट्टले पाशुपत दीक्षासहित मन्दिर प्रवेश गराउनुभएको थियो ।