TRENDING

कृषि उद्यमीले एक करोडसम्म ऋण पाउने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कृषि उद्यमीलाई १ करोडसम्म रुपैयाँ कृषि ऋण दिने भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास बैंकबीच भएको सम्झौताअनुसार उद्यम गर्न चाहने व्यक्ति तथा संस्थालाई वार्षिक २ प्रतिशत ब्याजदरमा १ करोडसम्म ऋण उपलब्ध गराउने भएको हो ।

उद्यम गर्ने व्यक्ति तथा संस्थाको व्यवसायको प्रकृति र कार्ययोजनाअनुसार १ लाखदेखि १ करोडसम्म ऋण लिन सकिने सम्झौता भएको कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बताइन् । ‘कर्णाली प्रदेशका १० वटै जिल्लाका कृषि विकास बैंकका शाखाहरूबाट यो ऋण उपलब्ध हुनेछ,’ उनले भनिन्, ‘कृषि तथा पशुपक्षी क्षेत्रमा लगानी गरी उत्पादन तथा उद्यम गर्न चाहनेका लागि प्रदेश सरकारले सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको हो ।’

कोरोना महामारीका कारणले वैदेशिक रोजगारी गुमेका तथा पुनः विदेशमा जान सम्भव नभएका जनशक्तिलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराएर कृषि क्षेत्रमा युवाहरूलाई प्रोेत्साहन गर्न प्रदेश सरकारले यस्तो योजना ल्याएको मन्त्री केसीले बताइन् । ‘सस्तो ब्याजदरमा ऋण लिएर गाउँमै युवाहरूलाई स्वरोजगार बनाउन आवश्यक रहेको छ,’ उनले भनिन्, ‘यसको सदुपयोग गरेर कर्णालीमा नै उद्यमीको विकास हुनेछ ।’ कर्णालीका १० जिल्लामा कृषि विकास बैंकका १८ वटा शाखा कार्यालयहरू रहेका छन् ।