TRENDING

आयरल्याण्ड ए विरुद्धको दोस्रो टी–२० सिरिजमा नेपालले जितका लागि १९९ रनको लक्ष्य

काठमाडौँ । काठमाडौँमा जारी आयरल्याण्ड ए विरुद्धको दोस्रो टी–२० सिरिजमा नेपालले जितका लागि १९९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर शुरुवाती ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनायो।

नेपालका लागि गुल्सन झाले सर्वाधिक ४६ रनको योगदान गरे। उनले ३२ बल खेलेर ४ छक्का र १ चौकाको मद्दतले ४६ रन बनाए।

ओपनिङमा आएका कुशल भुर्तेलले १६ बलको सामना गरेर २ छक्का र २ चौकाको सहायताले २५ रन जोडे। भुर्तेलभन्दा पहिले आउट भएका अर्का ओपनर आसिफ शेखले ९ बल खेल्दै १ छक्का र १ चौका प्रहार गर्दै ११ रन बनाए।

विष्फोटक ब्याटिङ गरेका कुशल मल्लले १३ बलमा ३ छक्का र १ चौका हान्दै ३४ रन बनाए।

३३ रन बनाएका कप्तान रोहित पौडेलले यसका लागि २४ बलको सामना गरे भने ५ चौका प्रहार गरे।

२ चौकाको सहायताले १२ रन जोडेका अनिल साहले यसका लागि ११ बल खेले।

सन्दिप जोराले पालीको अन्तिम बलमा क्याच आउट हुनुअघि १० बल खेलेर १ छक्का र ३ चौका प्रहार गर्दै २१ रन बनाए। अर्को छेउमा अविजित रहेका विवेक यादवले ८ बल खेलेर ७ रन बनाए।