TRENDING

थाइल्याण्डमा अलपत्र १३ नेपालीको उद्धार गरी नेपाल ल्याइयो

काठमाडौं । थाइल्याण्डमा अलपत्र बनेका १३ नेपाली नागरिकको उद्धार गरी नेपाल फिर्ता ल्याइएको छ । थाइल्याण्डस्थित नेपाली दूतावासले १३ जनाको उद्धार गरी नेपाल फिर्ता गरेको जनाएको छ ।

थाइल्याण्ड र म्यानमार सीमा नजिक म्यानमारको म्याबड्डीमा लामो समयदेखि समस्यामा परेका १३ जनाको उद्धार गरिएको हो । थाई परराष्ट्र मन्त्रालय, थाई इमिग्रेसन ब्यूरो र नेपाली दूतावास यांगोनको समन्वयमा उद्धार गरी नेपाल फिर्ता गरिएको थाइल्याण्डस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

उद्धार गरिएका १३ नेपाली नागरिकलाई आज शुक्रबार थाइल्याण्डको मेइसोटसम्म कर्मचारी खटाइ थाई–म्यानमार सीमा पार गराइएको थियो । त्यसपछि थाइल्याण्डको मेइसोटतर्फ ल्याई त्यहाँबाट हवाई यात्रा मार्फत बैंकक हुँदै नेपाल एअरलाइन्सको उडान नम्बर आरए ४०२ मार्फत काठमाडौं पठाइएको दूतावासले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।