TRENDING

युक्रेनको पावर प्लान्टमा रुसको आक्रमण

एजेन्सी । रुसले युक्रेनको ठूलो मध्येको एक पावर प्लान्टमा आक्रमण गरी ध्वस्त बनाइदिएको छ। विहीबार कियभ क्षेत्रमा रहेको ट्रिपिलिस्का पावर प्लान्टमा रुसले मिसाइल आक्रमण गरेको हो । आक्रमणबाट पावर प्लान्टमा आगो लागेको र बिजुली उत्पादन बन्द भएको बीबीसीले जनाएको छ ।

रुसले पछिल्लो पटक युक्रेनका बिजुली, रेलवे लाइन, पुल सहित पाँच क्षेत्रमा आक्रमण केन्द्रित गरेको छ । यही अभियान अन्तर्गत ट्रिपिलिस्का पावर प्लान्टमा आक्रमण भएको हो ।युक्रेनको राजधानीबाट करिब ४५ किलोमिटर दक्षिणमा रहेको ट्रिपिलिस्का पावर प्लान्ट बिजुली संयन्त्रको एक महत्वपूर्ण हिस्सा थियो । यसबाट युक्रेनलाई ठूलो झड्का लागेको बताइएको छ ।

यो युक्रेनको कूल बिजुली उत्पादन क्षमताको करिब १० प्रतिशत हिस्सा थियो । यहाँ उत्पादित बिजुली कियभसहित तीन प्रदेशमा आपूर्ति हुने गर्दछ । यो ध्वस्त भएपछि देशमा बिजुली कमी हुन सक्ने अनुमान गरिएको छ ।रुसले मिसाइल र ड्रोन प्रयोग गरी युक्रेनमा आक्रमण जारी राखेको छ । युक्रेनको जापोरिज्जा परमाणु ऊर्जा संयन्त्रमा पनि आक्रमण भएको थियो । यो युरोपको सबैभन्दा ठूलो परमाणु संयन्त्रमध्येको एक थियो । ड्रोन हमलाबाट यहाँ विष्फोट भएको थियो ।