TRENDING

एक वर्षमा झन्डै १० लाख १५ हजार जना पर्यटक नेपाल आए

काठमाण्डौ । नेपालमा एक वर्षमा झन्डै १० लाख १५ हजार जना पर्यटक आएका छन् । सन् २०२३ मा हवाई मार्गबाट दुई सय १९ वटा देश तथा क्षेत्रका १० लाख १४ हजार आठ सय ७६ जना पर्यटक आएका नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो ।

गएको डिसेम्बर महिनामा मात्रै ९६ हजार पाँच सय ६८ जना पर्यटक नेपाल आएका हुन् । सन् २०२३ मा नेपाल आएका पर्यटकमध्ये तीन लाख १९ हजार नौ सय ३६ जना भारतीय रहेका छन् । यस्तै अमेरिकाबाट एक लाख तीन सय ५७ जना, चीनबाट ६० हजार आठ सय ७८ जना र बेलायतबाट ५२ हजार आठ सय ६६ जना पर्यटक आएका छन् ।

कोभिड–१९ का कारण प्रभावित पर्यटन व्यवसाय लयमा फर्काउन सरकारले सन् २०२३ मा १० लाख जना पर्यटक भित्राउने लक्ष्य लिएको थियो । सरकारको त्यो लक्ष्य पूरा भएको छ ।

यस्तै सन् २०१९ को तुलनामा झन्डै ८५ प्रतिशत पर्यटक आएका छन् । सन् २०१९ मा नेपालमा ११ लाख ९७ हजार एक सय ९१ जना विदेशी पाहुना हवाई माध्यमबाट भित्रिएका थिए ।