TRENDING

विवाह पञ्चमीपछि सरसफाईमा तीव्रता

जनकपुरधाम । जनकपुरधाममा सम्पन्न भएको विवाह पञ्चमी महोत्सवपछि फोहर बनेको नगर क्षेत्रमा सरसफाई तीव्र बनाइएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले हिजो देखि नै सरसफाईमा तीव्रता दिएका छन् । जनकपुरधाम उपमहानगरपालिकाको शहरी क्षेत्रमा सरसफाई गरिएपछि नगरको पोखरीको डिल तथा गल्लीहरूमा अत्यधिक मात्रामा फोहर रहेका छन् । जनकपुरधामको जानकी मन्दिरमा आज विशेष सरसफाई गरिएको छ । जानकी मन्दिर परिसरलाई जनकपुरधाम उपमहानगरपालिकाले धोएर सफा बनाउने प्रयास गरेका छन् ।

लाखौँ तीर्थयात्रीहरू जनकपुरधाम आएका कारणले नगर क्षेत्रमा जथाभाबी रुपमा मलमूत्रका साथै अन्य उपभोग्य सामाग्रीहरू फालेका कारणले सरसफाई चुनौतीपूर्ण बनेको छ । अहिले बाह्र विघा क्षेत्रमा अत्यधिक मात्रामा फोहर रहेका छन् । यसका साथै जानकी मन्दिर क्षेत्रमा नै हालै सौन्दर्यीकरण गरिएको तेलहा तथा मडहासर क्षेत्रमा जथाभाबी रुपमा मलमूत्र त्याग गरेका कारणले सो क्षेत्रमा घर भएका व्यक्तिहरूलाई सास लिनमा समस्या भएको स्थानीयवासीले जनाएको छ ।

बढ्दो शहरीकरणका कारणले खाली जग्गाको अभाव भएको र तीर्थयात्रीको तुलनामा शौचालय कम भएका कारणले सर्वसाधारणलाई निक्कै समस्या भइरहेको छ ।