TRENDING

एनसेलको सेयर स्वामित्व खरिद बिक्री यथास्थितिमा रोक्न लेखा समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले एनसेलको सेयर स्वामित्व खरिद बिक्री सम्बन्धी कारोबारलाई यथास्थितिमा रोक्न निर्देशन दिएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्री कारोबार अस्वाभाविक र अपारदर्शी देखिएको हुनाले यसको स्वतन्त्र छानविन गराउन र त्यस अवधि सम्म कारोबारलाई यथास्थितिमा रोक्न सरकारलाई निर्देशन दिएको हो ।

बैठकले मलेसियाली कम्पनी दूरसञ्चार कम्पनी आजियटा र गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट बीच भएको एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा ३० दिनभित्र छानबिन प्रतिवेदन दिनेगरी स्वतन्त्र छानविन र अनुसन्धान गराउन पनि सरकारलाई निर्देशन दिएको छ ।

यस्तै बैठकले यस कारोबारका सम्बन्धमा भएका कामहरूको विस्तृत विवरण र नेपालमा प्रत्यक्ष वैदेशिक लगानी जोखिम युक्त रहेको भनि मलेसियाली कम्पनी दूरसञ्चार कम्पनी आजियटाले दिएको धारणाबारे ४८ घण्टाभित्र सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न पनि निर्देशन दिएको छ ।

समितिले एनसेलको शेयर कारोबारका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समितिको आगामी बैठकमा बोलाउने समेत निर्णय गरेको छ ।