TRENDING

क्षयरोगको नियन्त्रणका लागि डिजिटल एक्सरे सहितको मोबाइल भ्यान

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा क्षयरोगको प्रभावकारी परीक्षण तथा उपचारका लागि मोबाइल भ्यान सञ्चालनमा ल्याइएको छ ।

राष्ट्रिय क्षयरोग केन्द्रको सहयोगमा प्रादेशिक प्रयोगशाला जनकपुरधामले डिजिटल एक्सरे सहितको मोबाइल भ्यान सञ्चालनमा ल्याएको छ । गाउँ गाउँमा नै प्राविधिक सहितको भ्यान पुगेर क्षयरोगको परिक्षण गरिने भएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख निर्देशक डा. श्रवण मिश्रले जानकारी दिनु भएको छ ।

मोबाइल भ्यानले गाउँ गाउँमा पुगेर शङ्कास्पद व्यक्तिको छातीको एक्सरे गर्नुका साथै खकारको नमूना सङ्कलन गरेर परीक्षण गर्ने जानकारी निर्देशक डा. मिश्रले दिनु भयो । यसबाट सर्वसाधारणको समय तथा आर्थिक व्ययमा कमी आउने विश्वास गरिइएको छ ।

विभिन्न कारणले जिल्ला सदरमुकाम आउन नसक्नेहरूलाई क्षयरोगको परीक्षण गर्नका लागि डिजिटल एक्सरे सहितको मोबाइल भ्यान सञ्चालनमा आएपछि यसले सर्वसाधारणलाई ठूलो राहत मिल्ने मधेश प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ ।

खास गरेर मधेश प्रदेशका जिल्लामा अन्य प्रदेशका तुलनामा क्षयरोगीको सङ्ख्या बढी नै रहेको छ । मोबाइल भ्यानको प्रयोग गरेर रोगीको पहिचान र पहिचानपछि त्यसको उपचार मार्फत निको पारि क्षयरोगको प्रभावकारी नियन्त्रण गर्नमा मद्दत पुग्ने विश्वास गरिएको छ ।

नेपालमा क्षय रोग पत्ता लगाउने दर न्यून रहेको छ । प्रति १ लाखमा १२९ जनाको मात्र रोग पत्ता लागेको छ । क्षय रोग लागेपछि यसको समयमा उपचार नगरेको खण्डमा नेपालमा क्षयरोगका कारणले ३ प्रतिशत रोगीको वर्षेनी रुपमा मृत्यु हुने गरेको छ । क्षय रोग लागेको मध्ये ५० प्रतिशत बिरामी पत्ता लाग्न नसकेको क्षय रोगको राष्ट्रिय सर्भेमा उल्लेख रहेको छ ।

क्षयरोगबाट नेपालमा १५ वर्ष देखि ५४ वर्ष उमेर समूहका व्यक्तिहरू बढी मात्रामा पीडित हुनु परेका कारणले यसले मुलुकको उत्पादनमा असर पर्ने गरेको छ । क्षयरोगको उपचार डट्स विधिद्वारा हुने गरेको छ । क्षय रोगको उपचार निक्कै प्रभावकारी रहेकाले रोगको पहिचानका लागि मोबाइल भ्यान महत्वपूर्ण हुने आशा राष्ट्रिय क्षयरोग केन्द्रको रहेको छ ।