TRENDING

एक महिनामै झण्डै १० हजार जना पर्यटक खुम्बुक्षेत्र पुगे

सोलुखुम्ब । सोलुखुम्ब सोलुखुम्बुको खुम्बु क्षेत्रमा असोज महिनामा नौ हजार ८ सय १० जना पर्यटक पुगेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्याङ्कअनुसार असोजमा आठ हजार ५ सय ५१ विदेशी र एक हजार २ सय ५९ नेपाली गरी नौ हजार ८ सय १० जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका हुन् ।

यो सहित चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोज महिनामा खुम्बु क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या ११ हजार ३ सय ४२ जना पुगेका निकुञ्जका सूचना अधिकारी मनोज कुमार मण्डलले जानकारी दिनुभयो । जसमा एक हजार ४ सय ५९ नेपाली, एक हजार ४ सय १९ सार्क देशका र आठ हजार ४ सय ६४ जना अरु देशका विदेशी पर्यटक रहेका छन् ।

तीन महिनामा उनीहरुबाट दुई करोड ५१ लाख पाँच हजार ८ सय ९२ रुपैया राजस्व सङ्कलन भएको छ । सगरमाथा क्षेत्र घुम्ने नेपाली पर्यटकबाट एक सय रुपैयाँ, सार्क देशका नागरिकसँग एक हजार पाँच सय रुपैयाँ र अरु देशका नागरिकसँग तीन हजार रुपैयाँ शुल्क उठाउँदै आएको निकुञ्जको कार्यालयले जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज रहेको खुम्बु क्षेत्रमा सगरमाथा ल्होत्से, नुप्से, चोयु लगायतका हिमाल र गोक्यो लगायतका तालहरु छन् । खुम्बु क्षेत्रलाई विश्वकै उत्कृष्टमध्येको पदमार्गको रुपमा चिनिन्छ ।