TRENDING

देशका सबैजसो पर्यटकीय स्थलमा चहलपहल

काठमाण्डौ । दशैँ बिदाको बेला देशका धेरै पर्यटकीय स्थलमा चहलपहल बढेको छ । दशैँमा घरगाउँ पुगेकाहरु नजिकको पर्यटकीय क्षेत्र घुम्न जाने क्रम बढेपछि चहलपहल भएको हो । दशैँ सकिएपछि पनि धेरैजना घुम्न निस्किएका छन्।

धेरै स्कुल, क्याम्पस तिहारसम्म बिदा हुने भएकाले यो बेला घुम्न निस्कनेमा विद्यार्थी र शिक्षकको सङ्ख्या बढी छ । म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो लागेपछि होटल तथा लज भरिभराउ भएका छन् । म्याग्दी होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष ताराप्रसाद आचार्यले दशैँलगत्तै पाहुनाको चाप बढेर होटल भरिभराउ भएका जानकारी दिनुभयो ।

बेनी, गलेश्वर, पोखरेबगर, भुरुङ–तातोपानी, दाना, घोडेपानी, सिङ्गा तातोपानीका होटल पाहुनाले भरिभराउ बनेका हुन् । बडादशैँको टीकाको भोलिपल्टदेखि काठमाण्डौ, पोखरा, चितवन, विराटनगर, रुपन्देहीलगायत देशका सबैजसो जिल्लाबाट म्याग्दी हुँदै मुस्ताङ जाने आन्तरिक पर्यटकको ओइरो लागेको छ ।

‘पहाडकी रानी’ उपनामले परिचित पर्यटकीय क्षेत्र बन्दीपुरमा पनि पर्यटकको चहलपहल बढ्न थालेको छ । आन्तरिक एवम् बाह्य पर्यटकको दैनिक आवागमनमा वृद्वि हुन थालेपछि यहाँका व्यवसायी उत्साहित भएका छन् । बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटकको सङ्ख्या बढी हुने गरेको बन्दीपुर पर्यटन विकास समितिका निवर्तमान अध्यक्ष बैंश गुरुङले जानकारी दिनुभयो । विशेषगरी युरोपेली देश, चीन, भारतलगायत देशबाट पर्यटक बन्दीपुर आउने गरेका छन् ।

ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा पनि घुम्न जाने पर्यटक सङ्ख्या बढ्दै गएको छ । मौसम खुलेको समय र दशैँ तिहारको लामो बिदाका समयमा प्राकृतिक सुन्दरतामा रमाउन चाहनेका लागि पहिलो रोजाइमा कञ्चनजङ्घा क्षेत्र पर्न गएको हो ।

कञ्चनजङ्घा क्षेत्र घुम्नका लागि अन्तरिक तथा बाह्य पर्यटक पहिलो रोजाइमा पर्दै गएको छ । विश्वको तेस्रो कञ्चनजङ्घा हिमाल प्रवेशद्वार घुन्सा बस्तीमा पर्यटकको चलहलपहल बढ्दै गएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यालय घुन्सा चेकपोष्टका पर्यटन सहायक टाँसी तेन्जिङले बताउनुभयो ।