TRENDING

हिमाली क्षेत्रका नागरिकलाई हवाई टिकट पाउनै मुस्किल

काठमाण्डौ । सडक सञ्जाल नपुगेका सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली क्षेत्रका नागरिकलाई हवाई टिकट पाउन सधैँ मुस्किल हुने गरेको छ ।

मौसमको प्रतिकूलता र एअरलाइन्सहरुको सीमित उडान भएकाले हवाई टिकटमा ठूलाबडाको मात्रै वर्चश्व हुने गरेको देखिन्छ । नेपाल वायुसेवा निगमका उडानहरु अत्यन्तै न्यून हुनु, निजी एअरलाइन्सहरुले पनि नियमित उडानलाई भन्दा चार्टर्ड उडानलाई प्राथमिकतामा राखेका कारण नियमित हवाई उडानमा नागरिकलाई टिकट पाउन मुस्किल हुने गरेको हो ।

नेपालगञ्जबाट हिमाली क्षेत्रमा उडानका लागि नागरिकले हवाई टिकट पाउन कि त ठूला नेतालाई भन्नुपर्छ कि त बिचौलियालाई । सामान्य ढंगले आफैँ टिकट लिन्छु भन्ने हो भने महिनौँसम्म पनि टिकट पाउन नसकिने अवस्था त्यस क्षेत्रको छ ।

सुत्केरी गराउन नेपालगञ्ज आएकी लुम्बिनी प्रदेश पूर्वीरुकुमकी टीका शाहले घर फर्कनका लागि जहाजको टिकट पर्खिरहनुभएको छ । नेपालगञ्ज आउने समयमा पनि जहाजको टिकट सहज पाइएको थिएन । रुकुमपूर्व सिस्ने गाउँकी टीका जिल्लामा सुविधासम्पन्न अस्पताल नभएपछि सुत्केरी सेवा लिन नेपालगञ्ज आउनुभएको थियो । १८ दिनकी सुत्केरी टिकासँग जहाजको टिकट छैन । पाइन्छ कि भन्ने आशामा विमानस्थलमा बच्चा लिएर यताउता गरिरहनुभएको छ ।