TRENDING

आज विश्व पर्यटन दिवस ः त्रिभुवन विमानस्थलमा पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई पर्यटनमन्त्री किरातीले स्वागत गर्दै

काठमाण्डौ । आज ४४औँ विश्व पर्यटन दिवस, ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गर्दैछन् । दिवस मनाउन पर्यटनमन्त्री सुदन किरातीको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई पर्यटनमन्त्री किरातीले स्वागत गर्ने कार्यक्रम छ ।

यस्तै बिहान साढे ७ बजे ललितपुरको पाटन ढोकादेखि मङ्गलबजारसम्म प्रभातफेरि गरिनेछ । पाटन दरबार क्षेत्रमा औपचारिक कार्यक्रम हुनेछ । विगतमा ठमेलबाट प्रभातफेरी गरेर भृकुटीमण्डपमा रहेको पर्यटन बोर्डमा औपचारिक कार्यक्रम हुने गरेकामा यो वर्ष ललितपुरमा पर्यटन दिवस मनाउन लागिएको हो । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान० का अध्यक्ष निलहरि बाँस्तोलाले पर्यटनलाई चलायमान बनाउन दिवसका अवसरमा हुने गतिविधिले सहयोग पुग्ने बताउनुभयो ।

नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले दिवसका अवसरमा गरिने कार्यक्रमले मुलुकको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो । उहाँका अनुसार सङ्घको अगुवाइमा आज पोखरामा विशेष कार्यक्रम हुँदैछ । कोभिड–१९ महामारीबाट तीन वर्ष शिथिल बनेको पर्यटन क्षेत्र झण्डै पुरानै लयमा फर्किएको छ । पर्यटन बोर्डका अनुसार सन् २०२३ भित्र नेपालको पर्यटन पुनरुत्थान हुनेछ । विश्व पर्यटन सङ्गठनले पनि सन् २०२३ सम्म नेपालको पर्यटन पुनरुत्थान हुने प्रक्षेपण गरेको छ ।