TRENDING

फष्टलुक्समा यस्तो देखियो ‘दिमाग खराब’

काठमाडौँ । आगामी कात्तिक २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘दिमाग खराब’ । दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल र सुमन कार्कीलगायतका कलाकारको अभिनय रहेको फिल्मको फष्टलुक पोस्टर सार्वजनिक भएको छ ।

प्रचार प्रसारको थालनीको रूपमा बिहीबार निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा कलाकारहरूको क्यारेक्टर लुक्स प्रस्तुत गरिएको छ । पोस्टरका कोही कलाकार निराश छन् , त कोही घाइते अवस्थामा देखिएका छन् । अभिनेत्री स्वस्तिमा भने विवाहित महिलाको रूपमा देखिएकी छन् ।

‘लुट’बाट सेलिब्रेटी बनेका निश्चल बस्नेतको निर्देशन रहेको फिल्म सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माणमा बनेको हो । आकाश बरालको पटकथा, सुसन प्रजापतिको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको सङ्गीत तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।

सुरज बम ठकुरी कार्यकारी निर्माता र रौनक विक्रम कँडेल निर्माता रहेको फिल्म जनता र शक्तिको कथामा केन्द्रित रहेको बताइएको छ ।