TRENDING

संघीय शिक्षा ऐन संसद्‌मा पेस हुँदै

काठमाडौं । सरकारले आज मंगलबार संघीय शिक्षा ऐनको विधेयक संसद्‌मा पेस गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिन अगाडि एउटा कार्यक्रममा बोल्दै मंगलबार मन्त्रिपरिषद्‌ले मस्यौदा पारित गरी संघीय शिक्षा ऐनको विधेयक संसद्‌मा पठाउने बताएका थिए।
आइतबार समाजवादी विद्यार्थी मोर्चा घोषणा कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीले यसलाई गुणात्मक प्रकृतिको कदम हुने बताएका थिए।

‘म आज तपाईंहरुको अगाडि प्रधानमन्त्रीको हैसियतले भन्न चाहन्छु। पर्सि मंगलबार मन्त्रिपरिषद्को बैठकबाट पहिलोचोटि संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाइँदैछ। मलाई लाग्छ, यो आफैंमा निकै गुणात्मक प्रकृतिको कदम हुनेछ। र यसले शिक्षा क्षेत्रमा अहिले देखापरेका थुप्रै समस्याहरुलाई सम्बोधन गर्ने तागत त्यो ऐनले राख्नेछ,’ प्रधानमन्त्री प्रचण्डले भनेका थिए।

संविधान जारी भएको ८ वर्षसम्म पनि नयाँ शिक्षा ऐन आउन सकेको थिएन। शैक्षिक क्षेत्रका तमाम् समस्या तथा नयाँ सम्भावनाहरुको सम्बोधन गर्न नयाँ ऐनको अपरिहार्यता धेरै पहिलेदेखि महसुस हुँदै आएको थियो।

हाल कार्यान्वयनमा रहेको शिक्षा ऐन, २०२८ लाई समयसापेक्ष बनाउन भन्दै २०७३ सालमा आठौं संशोधन भएको थियो। तर आठौं संशोधनले विद्यमान शैक्षिक प्रणालीलाई पर्याप्त रूपमा समेट्न नसकेको र पुरानो भइसकेको भन्दै नयाँ ऐन निर्माणको आवाज उठ्दै आएको थियो।