TRENDING

‘हिमालको ऐना’ म्याग्दीको बराह ताल

म्याग्दी । शिरानमा घना जङ्गल । पूर्वतर्फ मोहोडा गरेको सुन्दर समथर फाँट । जताततै हरियाली नै हरियाली । गुजुल्टो परेको बस्ती । बस्तीको माथिल्लो र जङ्गलको तल्लोपट्टि उत्तर–पश्चिम लमतन्न फैलिएको नेपालको नक्सा आकारको निस्कोट बराह ताल ।

म्याग्दीको मालिका गाउँपालिका–१ मा पर्ने निस्कोट गाउँको शिरानमा रहेको बराहताल अलि टाढाबाट हेर्दा नेपालको नक्साजस्तै देखिन्छ । यो तालमा धौलागिरि हिमालको प्रतिविम्ब स्पष्टसँग देखिने हुनाले यस ताललाई ‘हिमालको ऐना’ पनि भनेर चिनिन्छ ।

निस्कोट सामुदायिक वनको पुछारमा रहेको यो ताल उत्तरपश्चिम भएर फैलिएको छ । क्षितिजमा धौलागिरि हिमाल देखिन्छ भने सोही हिमालको प्रतिविम्ब तालमा देख्दा यहाँ पुग्ने आन्तरिक पर्यटक छक्कै पर्ने मालिका –१ का वडाध्यक्ष टङ्कप्रसाद पुनले बताए।

उनका अनुसार गाउँको शिरानमा र जङ्गलको पुछारमा रहेको यो ताल कहिल्यै पनि फोहर हुँदैन । यहाँ जङ्गलका पात पतिङ्गर परिहाले भने पनि पन्छी चरा हरुले चुच्चोले टिपेर बाहिर फ्याक्ने गर्दछन् ।

निस्कोट गाउँमा पुगेपछि घना वनजङ्गलको बीच भाग र केही मानव बस्ती रहेको ठाउँमा बराहतालको लोभलाग्दो दृश्य हेर्न पाइन्छ । समुद्री सतहदेखि दुई हजार तीन सय मिटरको उचाइमा अवस्थित बराहताल र तालको आसपासबाट मनोरम हिमशृङ्खला देखिन्छन् ।