TRENDING

काठमाडौं महानगरले सय जना नगर प्रहरी थप्दै

काठमाडौँ । काठमाडौं महानगरपालिकाले थप सय जना नगर प्रहरी भर्ना गर्ने भएको छ । प्रहरीले धेरै कामहरू गर्नुपरेको र हाल रहेको जनशक्ति अपुग भएको भन्दै थप जवान भर्ना सुरु गरेको हो ।

कामपाले यसअघि नेपाल प्रहरी र सशस्त्रका जवानमा भर्नाको नतिजामा वैकल्पिक सूचीमा रहेकाहरूलाई राख्ने उद्देश्यले सूचना गरेको थियो । त्यसमा ३५ जना मात्रै भर्ना भएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । ‘त्यो भर्नाले संख्या पुगेन, नेपाली सेनाको सिपाहीका वैकल्पिक सूचीमा रहेकाहरूलाई भर्ना लिन थालेका छौं,’ उनले भने ।

पाण्डेका अनुसार नगर प्रहरी बलमा जवान, हबलदार, असई, सई, इन्स्पेक्टर, डीएसपी र एसपी गरेर स्थायी सेवाअन्तर्गतका १ सय ६५ सहित हाल ३ सय १६ जना कार्यरत छन् । काठमाडौंको महानगर प्रहरी कार्यालय भवन सुरक्षा, वातावरण विभाग, हनुमानढोका दरबार क्षेत्र, ट्राफिक तथा पार्किङ व्यवस्थापन, दमकल सेवा, पीएसओ, आन्तरिक प्रशासन, सडक पेटी व्यवस्थापन, मुद्दा तथा मेलमिलापलगायतका क्षेत्रमा प्रयोग भएका छन् । धेरै क्षेत्रमा खटाउदा संख्या अपुग भएको हो ।

यसैबीच फुटपाथ व्यवसायीलाई अभद्र र अमानवीय व्यवहार गर्ने ७ जना नगर प्रहरी काठमाडौं महानगरले करारमा पठाउने कम्पनीलाई फिर्ता गरेको छ । गत मंसिरयता खराब आचारण देखाएर फुटपाथ व्यवसायीसँग प्रस्तुत भएका उनीहरूलाई फिर्ता पठाइएको नगर प्रहरी प्रमुख पाण्डेले जानकारी दिए । काठमाडौं महानगरपालिकामा हाल करारका १ सय १७ सहित ३ सय १६ जना नगर प्रहरी छन् । करारमा लिइएकाहरू युनिक सेक्युरिटिजमार्फत महानगर भर्ना भएका हुन् । ‘७ जनालाई कारबाहीमार्फत फिर्ता पठाइएको छ । उनीहरूको ठाउँमा कम्पनीले नयाँ मान्छे पठाउँछ,’ पाण्डेले भने ।