TRENDING

काठमाडौं उपत्यकामा सर्पदंशका बिरामी बढ्न थाले

काठमाडौं । गर्मी र बर्खासँगै तराईका साथै काठमाडौं उपत्यकामा सर्पदंशका बिरामीको संख्या बढेको छ।

पछिल्लो केही हप्तायता टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक १२ जना सम्म सर्पदंशका बिरामी अस्पतालको इमर्जेन्सीमा उपचार गर्न पुग्छन्। अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार अन्य मौसममा भन्दा असार र साउनमा सर्पदंशका बिरामी धेरै नै आउँछन्।

‘असार र साउन महिनामा सर्पदंशका बिरामी बढ्छन्। हाम्रो अस्पतालमा आउने काठमाडौं, ललितपुर, भक्तपुर आसपासका बिरामी हुन्। सर्पले टोकेर आएका सबै जनालाई भर्ना गर्नु नपर्ने भए पनि सर्पले टोकेर अलि गम्भीर खालका बिरामीलाई भने भर्ना नै गरेर उपचार गर्नुपर्छ’, उनले भने, तराईका सर्प जस्तो उपत्यकाको सर्प त्यति विषालु त हुँदैनन्, तर जुन बिरामीको रगतमा सर्पको टोकाइबाट अलिक खराबी देखिन्छ। उनीहरूलाई भने १५ दिनसम्म भर्ना गरेर उपचार गर्नुपर्छ।

सर्पदंशका बिरामी अझ बढ्दै जानेसमेत उनले बताए। काठमाडौं आसपासका पहाडी भेगमा देखिने सर्प तराई भेगमा देखिनेको तुलानामा कम विषालु हुने भए पनि सर्पले टोक्नासाथ स्वास्थ्य संस्थामा पुग्नुपर्ने समेत डा। पुनको भनाइ छ। ‘काठमाडौं उपत्यकासहित पहाडी भेगका सर्प तराईमा पाइने सर्पको तुलनामा कम विषालु हुन्छन्। तर टोकेको खण्डमा छिटोभन्दा छिटो स्वास्थ्य संस्थामा पुग्नुपर्छ’, उनले भने।